२०८३, भाद्र ८ गते

Aug 24 2026 | २०८३, भाद्र ८ गते

स्थानीय तहमा ५० प्रतिशत महिला सहभागीता हुनुपर्नेमा जोड

सोमवार , भाद्र ८, २०८३

  • 292
    Shares
  • 292
    Shares
  • बुटवल, ८ भदौ । अखिल नेपाल महिला संघ (अनेमसंघ) रूपन्देहीको ११ औं जिल्ला सम्मेलन ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ बुटवलमा सम्पन्न भएको छ।

    कार्यक्रमको प्रमुख अतिथि अनेमसंघ केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य टुकाभद्र हमालले महिलाहरूलाई अब ३३ प्रतिशत अधिकारले मात्र नपुग्ने बताउनुभयो । स्थानीय तह र पालिकास्तरका हरेक निकायमा ५० प्रतिशत महिला सहभागीताले पूर्णता पाउनुपर्ने बताउँदै उहाँले यसलाई आगामी २०८४ को चुनावबाटै व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो । हमालले बालिका गरिमा चौधरीको हत्यारालाई हदैसम्मको कारवाही गर्न माग समेत गर्नुभयो । उहाँले महाधिवेशन र अधिवेशनको जनादेशलाई अवमूल्यन गर्दै छोटो अवधिमै पुनर्गठनको नाममा पार्टीभित्र अस्थिरता ल्याउन नहुनेमा जोड दिँदै अहिलेकै अवस्थामा पार्टी र संगठनलाई एकढिक्का बनाएर लैजानुपर्ने धारणा राख्नुभयो ।

    सम्मेलनमा अनेमसंघ केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज बिना ज्ञवालीले तल्लो तहसम्म संगठन विस्तार गर्दै महिलाको समान र नेतृत्वदायी सहभागीता सुनिश्चित गर्न अनेमसंघ निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो ।

    अनेमसंघ स्थायी कमिटी सदस्य ज्ञानु के.सी.ले पार्टी र भ्रातृ संगठन मजबुत भएमा मात्रै जनताका मुद्दाहरू सशक्त रूपमा उठ्न सक्ने बताउनुभयो ।

    नेकपा (एमाले) रूपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थीले एमालेले महिला नेतृत्व विकास र अधिकारका पक्षमा सधै अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

    अनेमसंघ रूपन्देहीका अध्यक्ष विष्णु के.सी.ले तमाम चुनौतीका बाबजुद रूपन्देहीमा अनेमसंघले महिला अधिकारका पक्षमा निरन्तर काम गरिरहेको र सम्मेलनका निर्णयहरूलाई एकजुट भएर कार्यान्वयनमा लैजाने बताउनुभयो ।

    सो अवसरमा संगठनमा पुर्याएको योगदानको कदर गर्दै अनेमसंघका पूर्वअध्यक्ष मधुकला कुवरलाई सम्मान गरिएको थियोे । सम्मेलनको बन्दसत्रमा अध्यक्षकोतर्फबाट प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र कोषाध्यक्षकोतर्फबाट देवकी खरेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ ।

    अनेमसंघ रूपन्देहीका अध्यक्ष विष्णु के.सी.को अध्यक्षता तथा सचिव दुर्गा पाठक पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।