आइतवार , भाद्र ७, २०८३
बुटवल, ७ भदौ । ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुल, बुटवल–११, नहरपुर, रुपन्देहीको आयोजनामा सञ्चालित प्रथम ज्ञानपुञ्ज जिल्लास्तरीय अन्तरविद्यालय सेभेन ए–साइड फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत सातौं दिन पाँचवटा प्रतिष्पर्धात्मक खेल सम्पन्न भएका छन् ।
प्रतियोगिताको शीर्ष प्रायोजक सिद्धार्थ केबलकार लिमिटेड तथा मुख्य प्रायोजकहरू सिद्धिविनायक स्न्याक्स एण्ड नूडल्स प्रा.लि. र ऊर्जा इन्टरप्राइजेज प्रा.लि. रहेका छन् ।
सातौं दिनको पहिलो खेलमा शिवपुर माध्यमिक विद्यालयविरुद्ध नवरत्न इङ्लिस हाई स्कूलले संघर्षपूर्ण जीत हासिल गर्यो । अत्यन्त प्रतिष्पर्धात्मक बनेको खेलमा अमृत बि.के.को निर्णायक गोल नै नवरत्नको जीतको आधार बन्यो । उत्कृष्ट प्रदर्शनसहित टोलीलाई महत्वपूर्ण जीत दिलाएका अमृत बी.के. प्लेयर अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय–टीम एले लुम्बिनी शिक्षालयमाथि ४–० गोलअन्तरको प्रभावशाली जीत दर्ता गर्याे । कुलचो गुरुङले टोलीका लागि खाता खोले भने रोयल पंगेनीले २ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे । अजित हमालले १ गोल थपे । २ गोलसहित प्रभावशाली प्रदर्शन गरेका रोयल पंगेनी प्लेयर अफ द म्याच घोषित भए ।
तेस्रो खेलमा सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालयले कोलिया इङ्लिस बोर्डिङ स्कूलमाथि ४–० को फराकिलो जीत हासिल गर्याे । टोलीका कप्तान सुभाष नेपालीले उत्कृष्ट २ गोल गर्दै अग्रणी भूमिका निर्वाह गरे भने नबिन बी.के.ले पनि २ गोल थपे । नेतृत्वदायी तथा प्रभावशाली प्रदर्शन गरेका कप्तान सुभाष नेपाली प्लेयर अफ द म्याच घोषित भए ।
चौथो खेलमा नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय–टीम बीले श्री जनज्योति माध्यमिक विद्यालयलाई २–० गोलअन्तरले पराजित गर्याे । टोलीको जीतमा श्याम परियार एक्लैले दुवै गोल गर्दै निर्णायक भूमिका खेले । उत्कृष्ट फिनिसिङसहित शानदार प्रदर्शन गरेका श्याम परियार प्लेयर अफ द म्याच घोषित भए ।
सातौं दिनको अन्तिम खेलमा नवरत्न इङ्लिस हाई स्कूल र स्कलर्स होम इङ्लिस बोर्डिङ स्कूलबीच निर्धारित समयसम्म कुनै गोल हुन सकेन । गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो, जहाँ नवरत्नले ३–१ को जीत हासिल गर्दै अर्को चरणको यात्रा तय गर्याे । टाइब्रेकरमा महत्वपूर्ण प्रदर्शन गरेका नवरत्नका गोलरक्षक अजय घमाल प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगितामा विजेता हुने समूहले नगद ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । बुटवलको देवीनगरस्थित एन्फा रंगशालामा खेल भइरहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij