आइतवार , भाद्र ७, २०८३
भैरहवा, ७ भदौ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ निवासी राहुल यादवले गाउँपालिकाभित्र कक्षा १२ उत्तीर्ण गरेका चारजना उत्कृष्ट विद्यार्थीलाई साईकलसहित सम्मान गर्नुभएको छ । त्यस्तै उहाँले गाउँपालिकाभित्रका १२० जना विद्यार्थीलाई सम्मान गर्नुभएको हो।
शनिबार कोटहीमाई गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको हो ।
२०८३ सालमा सञ्चालित कक्षा १२ को परीक्षामा कोटहीमाई गाउँपालिकाभित्रका चारवटा विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने चारजना विद्यार्थीलाई साइकल उपहारसहित सम्मान गरिएको थियो ।
श्री मर्चवार आदर्श माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षामा ३ दशमलव ११ जीपीए ल्याउनुभएकी गुडिया गुप्ता बनिया उक्त विद्यालयकी उत्कृष्ट विद्यार्थीका रूपमा सम्मानित हुनुभएको थियो ।
त्यसै गरी श्री मर्यादपुर माध्यमिक विद्यालयबाट ३.७ जीपीए ल्याउनुभएकी सीता कुमारी पाल, श्रीराम माध्यमिक विद्यालयबाट ३ दशमलव ११ जीपीए ल्याउनुभएकी साधना यादव र श्री बोगडी माध्यमिक विद्यालयबाट २ दशमलव ९४ जीपीए ल्याउनुभएका अशोक यादवलाई पनि साईकल पुरस्कारसहित सम्मान गरिएको थियो ।
चारवटै विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका अन्य सबै विद्यार्थीलाई समेत सम्मान गरिएको राहुल यादवले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय तथा शिक्षा क्षेत्रमा विभिन्न माध्यमबाट योगदान पुर्याउने अन्य व्यक्तिहरूलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी (जसपा), नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले कार्यक्रमको प्रशंसा गर्दै राहुल यादवलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कोटहीमाई गाउँपालिकाको विकास र समृद्धिका लागि राहुल यादवको योगदानको प्रशंसा गर्दै आगामी निर्वाचनमा पार्टीको तर्फबाट उहाँलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
अध्यक्ष यादवले भन्नुभयो–‘कोटहीमाई गाउँपालिकालाई राम्रो बनाउने अभियानमा आगामी निर्वाचनमा पार्टीकोतर्फबाट उहाँलाई अध्यक्षको उम्मेदवार बनाउन सकिनेछ । पालिकाबासीका हरेक पीडा र समस्यामा राहुल यादव जनताकै बीचमा देखिनुभएको छ । पालिकाप्रतिको जिम्मेवारीबोध उहाँजति अरू कसैमा मैले देखेको छैन ।’
राम्रो सोच र विकासको नीति भएका राहुल यादवलाई सबैले सहयोग गर्न आग्रह गर्दै उहाँले उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना पनि व्यक्त गर्नुभयो ।
समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका राहुल यादवले कार्यक्रममा बोल्दै शिक्षा क्षेत्र बलियो भए मात्रै समाजमा सकारात्मक परिवर्तन सम्भव हुने बताउनुभयो । विद्यार्थीहरूको मनोबल उच्च बनाउन कोटहीमाई गाउँपालिकामा मात्र नभइ मर्चवारका अन्य पालिकाहरूमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो । यादवले भन्नुभयो–‘अहिलेका विद्यार्थीलाई समयमै राम्रो परामर्श दिन र मनोबल बढाउन सके मात्रै उनीहरूको भविष्य राम्रो बन्न सक्छ । मेहनत गरे समाजमा मात्र होइन, देशभर चिनिन सकिन्छ ।’
उहाँले आफूले लामो समय शिक्षण पेसा र विद्यार्थी राजनीतिमा बिताएको उल्लेख गर्दै विद्यार्थीहरूसँग आत्मीय सम्बन्ध रहेको बताउनुभयो । ‘विद्यार्थीहरुको हरेक समस्या मेरो समस्या हो,’उहाँले भन्नुभयो ।
कोटहीमाई गाउँपालिकालाई राम्रो बनाउन बाहिरबाट कोही नआउने बताउँदै यादवले सबैले हातेमालो गरेर राम्रो पालिका र सभ्य समाज निर्माणमा योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij