२०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

गरिमा चौधरीको हत्यामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग

बिहिवार , भाद्र ४, २०८३

  • 211
    Shares
  • 211
    Shares
  • भैरहवा, ४ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ निवासी तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कानूनी कारवाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा ज्ञापनपत्र बुझाइएको छ । 

    बिहीबार ‘महिला अधिकारकर्मी समूह’ ले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो ।
    अबोध बालिकामाथि भएको यस्तो क्रुर अपराधले सम्पूर्ण समाजलाई स्तब्ध र आक्रोशित बनाएको राष्ट्रिय महिला आयोगको पूर्व सदस्य धनेश्वरी कुमारी चौधरीले बताउनुभयो । घटनाको सत्यतथ्य, निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषी जोसुकै भए पनि प्रचलित नेपालको कानूनबमोजिम कडा कारवाही गरिनुपर्ने आफूहरुको माग रहेको उहाँले बताउनुभयो ।

    ‘बालबालिकामाथि हुने यस्ता जघन्य अपराध नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरु संवेदनशील, जिम्मेवार र प्रभावकारी रुपमा प्रस्तुत हुन आवश्यक छ । ज्ञापनपत्रमा भनिएको छ–‘पीडित परिवारलाई न्यायको अनुभुति हुने गरी अनुसन्धान तथा कानूनी प्रक्रिया शीघ्र अगाडि बढाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा र रोकथामका उपायहरु अवलम्बन गर्न हामी नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं ।’

    महिला अधिकारकर्मी समूहले विभिन्न सातबुँदे माग राखेको छ । घटनाको निष्पक्ष, गहिरो र शिघ्र अनुसन्धान गरिनुपर्ने, घटनामा संलग्न दोषीलाई कानूनबमोजिम कडा कारवाही गरिनुपर्ने, पीडित परिवारलाई उचित राहत, न्याय तथा आवश्यक सुरक्षा प्रदान गर्नुपर्ने माग राखिएको वीर फाउण्डेशन नेपालको अध्यक्ष विजया खत्रीले बताउनुभयो ।

    त्यस्तै बालबालिकामाथि हुने यौन हिंसा तथा हत्या नियन्त्रणका लागि प्रभावकारी सुरक्षा व्यवस्था लागू गरिनुपर्ने, जघन्य अपराधमा संलग्न व्यक्तिलाई कुनै प्रकारको राजनीतिक, सामाजिक वा अन्य दबाबबाट उन्मुक्ति दिन नहुने, बालबालिकाको सुरक्षा सुनिश्चित गर्न स्थानीय तहदेखि केन्द्र सरकारसम्म विशेष प्रभावकारी कार्यक्रम तथा संयन्त्र निर्माण गरिनुपर्ने र बलात्कारलाई फासीको सजाय हुने कानून निर्माण गरिनुपर्ने समूहको माग छ ।

    प्रमुख जिल्ला अधिकारी अर्यालले ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयमा पठाउने बताउनुभयो । उहाँले कानूनबमोजिम हुनुपर्ने कारवाही सम्बन्धित निकायबाट भइरहेको जानकारी प्राप्त भएको बताउनुभयो । 

    ज्ञापनपत्र बुझाउन संविधान सभा सदस्य सिमा कौशल, लुम्बिनी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ता, लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यबाहक नगरप्रमुख कल्पना हरिजन, ओमसतिया गाउँपालिकाको उपाध्यक्ष सुनिता चौधरी, गैडहवा गाउँपालिकाको उपाध्यक्ष माधुरी जयसवाल, कञ्चन गाउँपालिकाको उपाध्यक्ष मौसमी थापा मगरलगायत विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधि जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो ।

    llll'.jpg