२०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् : खगेन्द्र सुनार

बिहिवार , भाद्र ४, २०८३

  • 250
    Shares
  • 250
    Shares
  • काठमाडौं, ४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका आरोप लगाउनुभएको छ । 

    बिहीवार बसेको सार्वजानिक लेखा समितिको बैठकमा उहाँले प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको आरोप लगाउँदै निश्चित विचौलियाले प्रहरी प्रधान कार्यालय नै कब्जा गरेको दाबी गर्नुभएको हो । प्रहरीले खरिद प्रक्रियामा भएका भनिएका बदमासीसम्बन्धी माग गरिएका कागजात अझै उपलब्ध गराए–नगराएकोबारे समितिमा जानकारी गराउन पनि उहाँले समिति सभापतिलाई आग्रह गर्नुभयो ।

    समितिको यसअघिको बैठकले १५ दिनभित्र प्रहरीको स्रोत–साधन खरिदसम्बन्धी कागजात उपलब्ध गराउन माग गरेको थियो । सुनारले पछिल्लो समयमा पनि प्रहरीले करोडौँ रुपैयाँका टेण्डर आह्वान गरेको भन्दै खरिद प्रक्रियामाथि प्रश्न उठाउनु भयो । यसअघि समितिमा आफूले उठाएको प्रश्नमा आफू अडिग रहेको बताउँदै उहाँले आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको भएमा अदालत जान चुनौती दिनुभयो । आफूले उठाएका प्रश्नको जवाफ दिन र कानुनी प्रक्रियामा उपस्थित हुन तयार रहेको उहाँको भनाई छ ।

    उहाँले भन्नुभयो, ‘हामीले १५ दिनभित्रमा त्यो प्रहरीको स्रोत साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन ? फेरि अझै बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ । निश्चित विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु । कहीँकतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उता पट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला । कठघरामा म उभिएर जवाफ दिनलाई म तयार छु । तर एउटा सार्वभौम एउटा चाहीँ समितिमा आएर टोपी भुईँमा राखेर जुहारी खेल्न पाइँदैन । सरकारको मानमर्दन गर्न पाइँदैन ।’

    उहाँले बैठकमा सांसदहरूबीच हुने बहस र व्यवहारप्रति पनि आपत्ति जनाउनु भयो । समितिको बैठकमा कुनै विषय नियमावलीविपरीत भएमा सभापतिले तत्काल रुलिङ गर्नुपर्ने तर एक सांसदले अर्को सांसदलाई धम्क्याउने, घेराबन्दी गर्ने वा हतोत्साहित गर्ने व्यवहार स्वीकार्य नहुने बताउनु भयो । जनताबाट निर्वाचित प्रत्येक सांसदले समितिमा आफ्ना प्रश्न राख्ने सार्वभौम अधिकार राख्ने उहाँको भनाई छ । सामान्य ढंगले प्रश्न गरेर भ्रष्टाचारको गहिराइमा पुग्न नसकिने भन्दै उहाँले समितिमा उठाइने प्रश्न निर्मम, गम्भीर र गहिरो हुनुपर्ने बताउनुभयो । समितिमा रहँदासम्म भ्रष्टाचार र खरिद प्रक्रियासम्बन्धी विषयमा आफूले कडा प्रश्न उठाइरहने सुनारको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘पछिल्लो बैठकमा जे जे भयो, त्यो जनताले सबै ठाउँबाट देखिरहनुभएको छ । मेरो सभापतिज्यूलाई मेरो एउटा गम्भीर ध्यानाकर्षण के छ भने समितिमा भएका छलफलहरूमा कहीँकतै त्यो नियम नियमावली विपरित छ भने सभापतिज्यूले रुलिङ गर्नुहोला, भन्नुहोला । तर एउटा सांसदले अर्को सांसदलाई हुरमत लिने, धम्क्याउने, घेराबन्दी गर्ने काम त्यो मान्य छैन । बोल्दै गरेको वक्ता पनि त्यहीँ निर्वाचित सांसद हो, जो जनताबाट अनुमोदित भएर आएको मान्छे हो । यहाँ प्रत्येक सांसद सार्वभौम छ ।

    त्यो भन्दै गर्दा कहीँकतै नियमापत्ति भयो भने सार्वजनिक लेखा समितिको जुन नियम नियमावली छ त्यो देखाउने, नियमापत्ति गर्ने र सभापतिले रुलिङ गर्ने । ताकि यसो र त्यसो भन्ने छैन, हुँदैन, त्यो मान्य छैन, त्यो स्वीकार्य छैन । फेरि घेराबन्दी गरिन्छ भने खगेन्द्र सुनार स्वीकार्य छ, तयार छ । कहाँको कठघरामा उभिनुपर्छ, प्रत्येक मेरो प्रश्नको मसँग जवाफ छ। त्यो फेस गर्न खगेन्द्र सुनार तयार छ । शैली मिलेन भनिएको छ, धेरै ठाउँमा । पहिलेको शैलीमा भ्रष्टाचारको छानबिन हुँदैन है ।

    ‘भन भन भाइ यो, भन कति खाइयो, भन छिटो चाहियो, लौ छिटो भन, अत्तो यता भन ।’ पहिलेको शैलीमा प्रश्न हुँदैन । प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तल्लैबाट हुन्छ । प्रश्नकर्ता वक्ता अस्वाभाविक, अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनुहोला, म दैलेखको नाइट बस चढ्न तयार छु । तर यो ठाउँमा बस्ने बेलासम्म प्रश्न निर्मम हुन्छ, त्यो गहिरो हुन्छ । त्यो कसैको चाकडी, कोही कसैलाई भन्नुपर्ने, केही कसै गर्नु पर्ने छ भने सम्बन्धित मान्नेज्यूले यसरी हो नि बोल्ने भनेर मजाले बोल्न सक्नुहुनेछ । त्यो सार्वभौमिक अधिकार सबैलाई छ ।’

    उहाँले अनियमितता र भ्रष्टाचार विरुद्ध समिति निर्मम बन्नुपर्ने बताउनु भयो । समितिको यसअघिको बैठकमा सुनार र प्रहरी महानिरिक्षक दानबहादुर कार्कीबीच प्रहरीको पोशाक खरिद प्रक्रियामा अनियमितता भएको विषयमा विवाद भएको थियो । उक्त विषमा सांसद सुनारले बिहीवारको बैठकमा प्रस्टीकरण दिनुभएको हो ।