२०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भारतको कोलकातास्थित एक होटलमा भीषण आगलागी : एक बालकसहित ९ जनाको मृत्यु

बिहिवार , भाद्र ४, २०८३

  • 223
    Shares
  • 223
    Shares
  • काठमाडौं, ४ भदौ । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातास्थित एक होटलमा बुधवार बिहान भीषण आगलागी हुँदा एक बालकसहित कम्तीमा ९ जनाको मृत्यु भएको छ । मध्य कोलकाताको न्यु मार्केट नजिकै रहेको मिर्जा गालिब स्ट्रिट (फ्री स्कुल स्ट्रिट) स्थित होटलमा भएको उक्त दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

    अधिकारीहरूकाअनुसार व्यस्त र घना बस्ती रहेको उक्त क्षेत्रमा अवस्थित होटलमा आगलागी भएपछि भवनभित्र धुवाँ भरिएको थियो । धुवाँका कारण होटलमा बसेका पाहुनाहरूमाझ भागदौड र त्रास उत्पन्न भएको थियो । उद्धार टोलीले भवनबाट करिब ६० जनाको सुरक्षित उद्धार गरेको छ भने घाइतेहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पताल लगिएको छ ।

    अग्नि नियन्त्रकहरूले आगोलाई नियन्त्रणमा लिइसकेका छन् र हाल भवनभित्र थप खोजी कार्य जारी रहेको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त होटलमा अग्नि सुरक्षाका आधारभूत मापदण्डहरू समेत पालना नगरिएको फेला परेको छ । होटलको तेस्रो तलाबाट आगलागी शुरु भएको अनुमान गरिए तापनि यसको यकिन कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    यसअघि दुई दिन पहिले मात्र कोलकाताबाट करिव २२० किलोमिटर उत्तरमा पर्ने बीरभूम जिल्लाको तारापीठस्थित एक होटलमा यस्तै प्रकृतिको आगलागी हुँदा ८ जनाको ज्यान गएको थियो । दुई दिनको अन्तरालमा भएका यी दुखद घटनाले होटलहरूको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ ।