
मंगलवार , जेठ ४, २०७८
दाङ, ४ जेठ ।
राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुई जनाको उम्मेदवारी परेको छ । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन् ।
चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डे यसअघि लुम्बिनी प्रदेशसभा सदस्य हुन् । एमालेका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित उनी केही दिनअघि सांसद पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरका थिए ।
त्यसै गरी एमालेका तर्फबाट उम्मेदवारी दिएका खड्का यसअघि पनि राष्ट्रियसभा सदस्य उम्मेदवार हुन । माओवादीबाट निर्वाचित अर्घाखाँचीका उनी एमाले प्रवेश गरेपछि उनलाई माओवादीले कारवाही गरेको थियो । कारबाहीपछि रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि एमालेले उनलाई नै पुनः उम्मेदवार चयन गरेको हो । राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आगामी १७ गते हुँदैछ ।
यो राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतभार प्रदेशको १ बराबर ४८ र स्थानीय तहको १ बराबर १८ हो ।
लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेस ६४, नेकपा माओवादी (केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ जना रहेका छन् । प्रदेशसभामा नेकपा एमाले ४२ जना सांसदमध्ये बिमला ओलीले माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । त्यसैगरी एमालेबाट प्रदेशसभामा निर्वाचित अमर बहादुर डाँगी राजीनामा दिएका छन् । अहिले एमालेका ३९ जना सांसद छन । नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, राष्ट्रिय जनमोर्चा १, जसपा (उपेन्द्र पक्ष) का २ जना सांसद छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij