२०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

मल वितरणमा लालपूर्जा माग्नुलाई नकारात्मक रूपमा लिनु हुँदैन : कृषिमन्त्री चौधरी

बुधवार , भाद्र ३, २०८३

  • 274
    Shares
  • 274
    Shares
  • काठमाडौं, ३ भदौ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानलाई मल वितरण गर्दा लालपूर्जा माग्नुलाई नकरात्मक रुपमा लिन नहुने बताउनुभएको छ ।

    बुधवार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दे उहाँले यस्तो बताउनुभएको हो । उहाँले जग्गाको क्षेत्रफलको आधारमा आवश्यक मल वितरण गर्न लालपुर्जा मागिएको बताउनु भयो । किसानको जग्गाको क्षेत्रफलका आधारमा प्राविधिकको सिफारिसअनुसार मलको मात्रा निर्धारण गर्न लालपूर्जा वा जग्गाको विवरण मागिएको उहाँको भनाई छ ।

    उहाँकाअनुसार मल आपूर्ति तथा वितरणमा संघ, प्रदेश र स्थानीय तीन तहका सरकारबीच समन्वय भइरहेको छ । केन्द्र सरकारले मल आपूर्ति गर्ने तथा प्रदेश र स्थानीय तहले वितरणमा सहजीकरण गर्ने व्यवस्था रहेको उहाँले बताउनु भयो । कृषिको कार्यान्वयन स्थानीय तहले गर्ने र मलको वितरण पनि स्थानीय तहले नै गरिरहेको उहाँको भनाई छ ।

    मन्त्री चौधरीले यसपटक मध्ये पुर्वको द्वन्द्वका कारण मल आपूर्तिमा केही ढिलाइ भएको स्वीकार गर्नुभयो । यद्यपि, सरकारले भारतसँग जीटुजी सम्झौतामार्फत तथा अन्य स्रोतबाट समेत मल ल्याउने प्रक्रिया अघि बढाइरहेको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘लालपूर्जा किन चाहिन्छ भन्ने कुरा बुझ्नुप¥यो । हामीले मल जति पनि हाल्न पाइन्छ त ? टेक्निकली तपाईंहरू सोच्नुस्, मल जति पनि हाल्न पर्दैन । टेक्निसियनले दिएको सुझाव अनुसार अनुसार हाल्ने हो, त्यही भएर हामीले उहाँहरूको जग्गाका विवरण कति हो, उहाँहरूलाई चाहिँ कति जग्गा छ र त्यो अनुसारको हामीले टेक्निसियनले सजेस्ट गरे अनुसारको मल वितरण गर्छौं । लालपूर्जा देखायो भन्दैमा त्यसलाई नेगेटिभ न्यारेटिभ नबनाउनुस् ।

    हामीले कति जग्गामा कति मल हाल्ने हो त्यो अनुसारको टेक्निकल लिड्समा काम गर्ने हो । हामी संघ, प्रदेश र स्थानीय तहको सरकारमा छौँ । केन्द्र सरकारले आपूर्ति गर्ने र प्रदेश सरकार र स्थानीय तहले वितरण प्रणालीमा सहजीकरण गर्ने गर्छ । कृषिको कार्यान्वयन स्थानीय तहले गर्छ । मलको वितरण पनि स्थानीय तहले नै गरिरहेको छ । हामीले मिलाएर काम गर्दैछौँ ।’

    उहाँले साउन १ देखि २७ गतेसम्म करिब ६२ हजार मेट्रिक टन मल किसानकोमा पठाएको जानकारी दिनुभयो । ६४ हजार मेट्रिक टन मल भारतबाट आउने क्रममा रहेको उहाँको भनाई छ । चालु आर्थिक वर्षका लागि करिब २ लाख ८०० मेट्रिक टन मल भित्रिने क्रममा रहेको पनि ८८ उहाँले बताउनु भयो । अन्तर्राष्ट्रिय बजारबाट मल ल्याउनुपर्ने भएकाले प्राविधिक तथा ढुवानीसम्बन्धी कारणले कहिलेकाहीँ आपूर्तिमा ढिलाइ हुने मन्त्री चौधरीले बताउनु भयो ।

    वर्षायाममा मल भिज्नसक्ने जोखिम रहेकाले ढुवानीमा थप सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ । मल वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सरकारले अनलाइन प्रक्रियासमेत अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो । किसानले मल वितरणसम्बन्धी विवरण अनलाइन प्रणालीबाट समेत हेर्नसक्ने व्यवस्था मिलाइरहेको मन्त्री चौधरीले बताउनु भयो ।