२०८३, आश्विन १८ गते

Oct 04 2026 | २०८३, आश्विन १८ गते

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको माग गर्दै तिलोत्तमा उपप्रमुखलाई ज्ञापनपत्र

बुधवार , भाद्र ३, २०८३

  • 730
    Shares
  • 730
    Shares
  • तिलोत्तमा, ३ भदौ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकहित, अधिकार तथा संरक्षण सुनिश्चित गर्न स्थानीय तहले आवश्यक नीति, कार्यक्रम तथा बजेटको व्यवस्था गर्नुपर्ने मागसहित समावेशी मञ्च नेपालले तिलोत्तमा नगरपालिकाको उपप्रमुख जगेश्वर देवी चौधरीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउन समावेशी मञ्च नेपालका प्रदेश समन्वयक बिनोद बिसी तथा एफएसटीपीका किरण गुरुङ लगायतको टोली तिलोत्तमा नगरपालिका पुगेको थियो ।

    ज्ञापनपत्र बुझ्दै नगर उपप्रमुख चौधरीले आगामी दिनमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सबै व्यक्तिलाई समेट्ने गरी नगरपालिकाका नीति, कार्यक्रम तथा बजेट निर्माणमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विगतमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि बजेट तथा कार्यक्रम विनियोजन गरिए पनि ट्रान्स पुरुष तथा समुदायभित्रका अन्य ओझेलमा परेका समूहहरू पर्याप्त रूपमा समेटिन नसकेको बताउनुभयो । विशेष गरी ट्रान्स पुरुषहरूको सवाल र आवश्यकतामाथि थप ध्यान दिनुपर्ने देखिएको उहाँको भनाइ थियो ।

    ‘समुदायका विभिन्न समूहका सवालहरू समेटिन नसकेको अवस्था रहेछ । अब उहाँहरूको अधिकार र आवश्यकताका विषयमा पनि स्थानीय तहबाट सक्दो सहयोग गरिनेछ, ’उपप्रमुख चौधरीले भन्नुभयो । उहाँले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग निरन्तर भेटघाट तथा छलफल गर्दै आएको उल्लेख गर्दै आफू पदमा रहे पनि वा नरहे पनि समुदायको अधिकार र समावेशीताका लागि आफ्नो साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    समावेशी मञ्च नेपालले स्थानीय तहले समुदायका सबै पहिचान र समूहलाई समान रूपमा सम्बोधन गर्दै बजेट, नीति, योजना तथा कार्यक्रम निर्माणमा अर्थपूर्ण सहभागीता र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।