२०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

विश्वासको मत दिएको भन्दै सन्तोष पाण्डेयलाई जसपाले सोध्यो स्पष्टीकरण

मंगलवार , भाद्र २, २०८३

  • 355
    Shares
  • 355
    Shares
  • भैरहवा, २ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टीको निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) नेतृत्वको सरकारको  पक्षमा मतदान गरेको भन्दै प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयसँग स्पष्टीकरण मागेको छ । जसपा नेपालका महासचिव डा. सुरेन्द्र कुमार झाले पाण्डेयलाई सम्बोधन गर्दै पठाएको स्पष्टीकरणपत्रमा पार्टीको निर्णय, नीति तथा निर्देशनविपरीत मतदान गरेको भन्दै त्यसको कारण स्पष्ट पार्न भनिएको  छ। 

    पार्टीले लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिनुअघि नै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यलाई निर्देशन दिएको थियो । तर, पार्टीको उक्त निर्देशनविपरीत पाण्डेयले प्रदेश सरकारको पक्षमा मतदान गरेको देखिएको भन्दै जसपा नेपालले स्पष्टीकरण मागेको हो ।

    पार्टीले पठाएको पत्रमा बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्देशनसहित पत्र पठाइएको उल्लेख छ । तर, उक्त निर्देशनविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको देखिएकाले पार्टी नीति, निर्णय तथा निर्देशनको उल्लंघन भएको विषयमा स्पष्टीकरण पेश गर्न भनिएको छ। 

    जसपा नेपालले पाण्डेयसँग चारवटा विषयमा स्पष्ट जवाफ मागेको छ। पहिलो, भदौ १ गते लुम्बिनी प्रदेश सरकारलाई विश्वासको मत दिने क्रममा पार्टीको निर्देशनविपरीत सरकारको पक्षमा मतदान गर्नुको कारण स्पष्ट पार्न भनिएको छ । दोस्रो, पार्टीको स्पष्ट निर्देशनविपरीत मतदान गरी पार्टी निर्णयको अवज्ञा गरेकाले पार्टी अनुशासन उल्लंघन भएको हो वा होइन भन्नेबारे स्पष्ट पार्न भनिएको छ।
    त्यस्तै पार्टी नीति, निर्णय तथा निर्देशन पालना नगरेको अवस्थामा पार्टी विधानको धारा १२६ बमोजिम आफूलाई अनुशासनात्मक कारवाही किन नगर्ने भन्नेबारे समेत आफ्नो धारणा पेश गर्न भनिएको छ।

    स्पष्टीकरणपत्रमा पाण्डेयलाई पत्र प्राप्त भएको मितिले सात दिनभित्र केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । तोकिएको समयभित्र स्पष्टीकरण पेश नगरेमा वा पेश गरिएको स्पष्टीकरण चित्तबुझ्दो नभएमा पार्टी विधान तथा प्रचलित निर्णयअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ । 

    यसअघि जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री आचार्यले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यलाई निर्देशन दिएको थियो। तर, लुम्बिनी प्रदेश सभामा जसपा नेपालका संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयसहितका प्रदेश सभा सदस्यहरूले पार्टीको केन्द्रीय निर्देशनविपरीत सरकारलाई समर्थन गर्ने बताएका थिए ।

    WhatsApp Image 2026-08-18 at 3.44.21 PM (1).jpeg

    लुम्बिनी प्रदेश सभामा जसपा नेपालका पाँच सदस्य छन् । पाण्डेय संसदीय दलका नेता हुनुहुन्छ । प्रदेश सभा सदस्यहरू हेमा बेल्बासे केसी, अम्बिका काफ्ले, आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर रहुनुभएको छ । तीमध्ये काफ्ले सोमबारको प्रदेश सभा बैठकमै उपस्थित हुनुभएन ।

    केन्द्रीय नेतृत्वले सरकारको समर्थन फिर्ता लिएर विपक्षमा मतदान गर्न निर्देशन दिएको अवस्थामा प्रदेश संसदीय दलका नेतासमेत सरकारको पक्षमा उभिएपछि पार्टीले स्पष्टीकरणमार्फत अनुशासनको प्रक्रिया अघि बढाएको हो ।

    सत्तारूढ दलमा रहेका एमाले र नेकपाको मात्र बहुमत नपुगेकोले जसपा नेपालले दिएको मतका आधारमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पूर्ण भएको थियो ।