मंगलवार , भाद्र २, २०८३
भैरहवा, २ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवा (भैरहवा)मा आइतबारदेखि बुद्ध हेरिटेज होटल सञ्चालनमा आएको छ । २ करोड रुपैयाँको लगानीमा होटल सञ्चालनमा आएको हो। होटलका अध्यक्ष जे.पी. सुवेदीले भारतमा करिब २० वर्ष र नेपालमा ५ वर्ष होटल क्षेत्रमा काम गरेको अनुभवलाई आफ्नै व्यवसायमा रूपान्तरण गर्दै होटल सञ्चालनमा ल्याइएको बताउनुभयो ।
‘होटलमा लिफ्टसहितको सुविधा र आकर्षक रेष्टुरेण्ट छ । होटलमा २० वटा स्टार होटल सहरका कोठा छन् । होटलमा विभिन्न परिकारका खानाका साथै ग्राहकको आवश्यकता र रुचीअनुसार सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ, ’उहाँले भन्नुभयो । उहाँका अनुसार होटलमा स्तरीय कोठाहरु, वाईफाई र पार्किङको व्यवस्था छ ।
हाललाई होटलमा प्रतिकोठा ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँ तोकिएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष सुवेदीले भारत, भियतनाम, मलेसिया लगायत देशका पर्यटकले होटल बुकिङ सुरु गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार होटल सञ्चालनकै दिनै सबै कोठाहरु बुकिङ भइसकेका छन् ।
आगामी दिनमा १ सय भन्दा बढी अटाउने गरी ठुलो बैंक्वेट हल बनाउने तयारी गरिएको उहाँले बताउनुभयो । अध्यक्ष सुवेदीले भारत तथा तेस्रो मुलुकका पर्यटक लक्षित गरी होटल सञ्चालनमा ल्याइएको बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij