आइतवार , श्रावण २४, २०८३
भैरहवा, २४ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मायादेवीले एकदिने मन्टेश्वरी तालिम सम्पन्न गरेको छ । आकार पब्लिकेशनको समन्वयमा शनिबार भैरहवामा तालिम भएको हो ।
कार्यक्रममा बोल्दै प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवले शिक्षक–शिक्षिकाको शैक्षिक क्षमता अभिवृद्धि गर्दै बालकेन्द्रित, प्रभावकारी र गुणस्तरीय शिक्षण विधिमा दक्ष बनाउन तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले बालबालिकाको शैक्षिक विकासका लागि शिक्षकले परम्परागत शिक्षण शैलीभन्दा व्यवहारिक तथा बालमैत्री विधिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । बालमैत्री, सुरक्षित र सिकाइ केन्द्रित कक्षाकोठाको वातावरण निर्माण गर्न तथा शिक्षकको अध्यापन शैलीमा सुधार ल्याउन तालिम उपयोगी हुने उहाँको भनाइ थियो ।
त्यस्तै प्याब्सन जिल्ला कार्यसमिति सदस्य बसन्त पाण्डेले प्याब्सनले हरेक वर्ष मन्टेश्वरीसम्बन्धी तालिम आयोजना गर्दै आएको बताउनुभयो । उहाँले मायादेवी प्याब्सनले शिक्षकको क्षमता विकास तथा शैक्षिक गुणस्तर सुधारका लागि थप अग्रसर भएर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
प्याब्सन मायादेवीका प्रमुख सल्लाहकार लक्ष्मीप्रसाद भुषालले तालिमले शिक्षकलाई कक्षाकोठा व्यवस्थापनदेखि बालबालिकासँगको व्यवहारसम्मका विभिन्न पक्षमा उपयोगी ज्ञान प्रदान गरेको बताउनुभयो । उहाँले शिक्षकले लेख्ने अक्षर, त्यसमा सुधार गर्नुपर्ने तरिका, विद्यार्थीलाई रमाइलो वातावरणमा सिकाउने शैली तथा कक्षाकोठा व्यवस्थापन जस्ता विषयलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो ।
प्याब्सन मायादेवीका पूर्व कार्यसमिति सदस्य रामप्रसाद लोधले मायादेवी प्याब्सनले विगतदेखि नै शिक्षकको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले शिक्षकको क्षमता विकासमा मायादेवी प्याब्सनले उदाहरणीय काम गर्दै आएको भन्दै प्रशंसा समेत गर्नुभयो ।
तालिमको सहजीकरण गर्दै प्रशिक्षक सोनी पौडेल तामाङले बालबालिकाको व्यक्तित्व तथा सिकाइको जग निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी शिक्षकमा रहेको बताउनुभयो । बालबालिकाको सिकाइ उपलब्धिमा शिक्षकको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले शिक्षकले योजना बिना गुणस्तरीय शिक्षण गर्न कठिन हुने धारणा राख्नुभयो ।
तालिममा सहभागी शिक्षक प्रगति आनन्दले तालिम शिक्षकका लागि अत्यन्त उपयोगी भएको बताउनुभयो । तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई आफूले कक्षाकोठामा व्यवहारमा लागू गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
तालिममा बालबालिकाको उमेर, रुची र सिकाइ क्षमताअनुसार शिक्षण गर्ने तरिका, पाठयोजना निर्माण, शैक्षिक सामग्रीको प्रयोग, बालमैत्री कक्षाकोठा व्यवस्थापन तथा शिक्षकको अध्यापन शैलीमा सुधार लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रमको सञ्चालन प्याब्सन मायादेवीका सचिव बृजुनाथ सिंहले गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij