२०८३, श्रावण २१ गते

Aug 06 2026 | २०८३, श्रावण २१ गते

ठाडो जवाफ दिएका गृहमन्त्रीले सांसदहरूसँग माफी मागे

बिहिवार , श्रावण २१, २०८३

  • 301
    Shares
  • 301
    Shares
  • काठमाडौं, २१ साउन । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग माफी माग्नुभएको छ । 

    सभाको बुधवारको बैठकमा निर्मला पन्त प्रकरणका सम्बन्धमा सांसदले सोधेको प्रश्नको जवाफ ठाडो भाषामा हुन गएको स्वीकार गर्दै रोष्ट्रमबाटै माफी माग्नुभएको हो । उहाँको उक्त भाषाशैलीप्रति सांसदहरुले आपत्ति जनाउनुभएको थियो ।

    यसअघि बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले ‘कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषि पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो ? यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको हो ? सरकारले हाम्री चेली निर्मालालाई कहिलेसम्म न्याय दिलाउँछ ?’ भनि प्रश्न सोध्नुभएको थियो । जवाफमा गृहमन्त्री गुरुङले तपाईंहरु सत्तामा हुँदा किन नगर्नुभएको ? भन्दै ठाडो प्रतिप्रश्न गर्नुभएको थियो । उहाँले आइन्दा यस्तो प्रश्न नगर्न समेत सांसदहरुलाई चेतावनी दिनुभएको थियो ।

    गृहमन्त्री गुरुङले माफी माग्दै भन्नुभयो, ‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ । सिक्दै जान्छौँ । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो । यसका लागि म क्षमाप्रार्थी पनि छु । हजुरहरूसँग माफी पनि माग्न चाहन्छु ।’

    उहाँले सरकार विपद् व्यवस्थापनका सम्बन्धमा सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्यमा काम गरिरहेको बताउनु भयो ।