२०८३, श्रावण २१ गते

Aug 06 2026 | २०८३, श्रावण २१ गते

ढल्केबरमा प्रश्तावित ट्रमा सेन्टरको काम अघि बढाउन सांसद यादवको माग

बिहिवार , श्रावण २१, २०८३

  • 244
    Shares
  • 244
    Shares
  • काठमाडौं, २१ साउन । नेपाली काँग्रेसका सांसद प्राध्यापक डा. चन्द्रमोहन यादवले मधेस प्रदेशको धनुषास्थित ढल्केबरमा प्रश्तावित ट्रमा सेन्टरको निर्माण प्रक्रिया कहाँ पुग्यो भन्दै सरकारसँग जवाफ माग गर्नुभएको छ । 

    बिहीवार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले पूर्वसहमति र अध्ययन भइसकेको उक्त आयोजना अलपत्र परेकोमा आपत्ति जनाउनुभएको हो ।

    सांसद यादवले ढल्केबर पूर्व–पश्चिम राजमार्ग र कोशी राजमार्गको संगमस्थल हुनुका साथै मधेस प्रदेशको राजधानी जनकपुरधाम जोड्ने प्रमुख व्यापारिक केन्द्र भएकाले यहाँ सवारी साधनको चाप अत्यधिक रहने बताउनु भयो । भौगोलिक र रणनीतिक हिसाबले यो क्षेत्रमा सडक दुर्घटनाको जोखिम उच्च रहेको उल्लेख गर्दै उहाँले यहाँ अत्याधुनिक ट्रमा सेन्टरको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

    उहाँले मधेस प्रदेशको करिब २१ प्रतिशत जनसंख्या र विशेषगरी ढल्केबर आसपासका चार जिल्ला (धनुषा, महोत्तरी, सर्लाही र रौतहट) को मात्रै ३२ लाखभन्दा बढी जनसंख्यालाई सेवा पुग्ने गरी यो केन्द्र स्थापना हुनुपर्ने तर्क गर्नुभयो। सरकारी स्तरमा हाल काठमाडौं र नेपालगन्जमा मात्र ट्रमा सेन्टर रहेको स्मरण गराउँदै उहाँले मधेस प्रदेशमा यसको अभाव खड्किएको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘ढल्केबर मधेस प्रदेशकै सबैभन्दा व्यस्त ट्राफिक जंक्सन हो । विगतमा यहाँको आवश्यकतालाई मध्यनजर गर्दै वैज्ञानिक अध्ययन समेत भइसकेको छ । करिव ४ वर्षअघि संघीय सरकारले माटो परीक्षण गरी करिव २ करोडको लागतमा भवन निर्माणको प्रक्रिया अघि बढाएको थियो । तर अहिले यो आयोजना कहाँ हरायो? म स्वास्थ्य मन्त्रीज्यूसँग यसको स्पष्ट जवाफ चाहन्छु ।’

    सांसद यादवले यसअघि नै मन्त्रिपरिषद्बाट निर्णय भई जग्गा प्राप्तिको प्रक्रिया समेत अघि बढिसकेको अवस्थामा आयोजना रोकिनु दुर्भाग्यपूर्ण भएको बताउनु भयो । उहाँले यदि सरकारले अन्य कुनै स्थानमा यस्तो केन्द्र बनाउन खोजेको भए त्यसको वैज्ञानिक आधार हुनुपर्ने र पहिले नै स्वीकृत भइसकेको ढल्केबरको आयोजनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने माग गर्नुभयो ।