
सोमवार , जेठ ३, २०७८
बुटवल, ३ जेष्ठ। पार्टी बिवादका बिच कारबाहीमा परि लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका जनता समाजबादी पार्टीका चार मन्त्रीको रिटमा आज सर्बोच्च अदालतमा सुनुवाइ हुँदैछ। जसपा केन्द्रिय समितिको निर्णय बमोजिम प्रदेश समितिको दल त्याग सम्बन्धी सुचना पत्रका आधारमा गरिएको उक्त कारबाही बदरको माग राख्दै दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुने भएको हो।
जसपाका पदमुक्त प्रदेश सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले कारबाही बदरको माग राखी सर्बोच्चमा दायर गरेको उक्त रिटमा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुन लागेको हो। केहीदिन अघि चारै जनालाई दल त्याग सम्बन्धी कानुन अनुसार कारबाही गरिएको लुम्बिनी प्रदेश सभा सचिवालयले सुचना प्रकासित गरेको थियो।
पदमुक्त गरिएका सन्तोष पाण्डेय हाल लुम्बिनी प्रदेश सरकारमा भौतिक पूर्वाधार बिकास मन्त्री, बिजय यादव भूमि व्यवस्था मन्त्री, कल्पना पाण्डे उद्योग, वन तथा वातावरण मन्त्री र सुमन रायमाझी भौतिक पूर्वाधार बिकास राज्यमन्त्री छन्। उनिहरुले पहिले बिपक्षी दलसँग मुख्यमन्त्रीको बिरुद्धमा ल्याउन लागेको अबिश्वासको प्रस्तावमा हस्ताक्षर गरेको र पछि पार्टी निर्णय बिपरित एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारमा सामेल भएको आरोपमा कारबाही गरिएको थियो।
रिटमा लुम्बिनी प्रदेशसभाका सभामुख, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सहश्रराम यादवलाई विपक्षी बनाइएको छ। रिटमा आफूहरुमाथि गरिएको कारबाही उत्प्रेषणको आदेशमार्फत बदर गर्न र रिटको अन्तिम टुंगो नलागेसम्म सांसद पदबाट पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न अदालत समक्ष अन्तरिम आदेश माग गरिएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij