सोमवार , श्रावण १८, २०८३
भैरहवा, १८ साउन । सरकारले प्राथमिक तहमा लागू गरेको आन्तरिक मूल्यांकन प्रणालीलाई प्रभावकारी, वस्तुनिष्ठ र व्यवहारिक बनाउने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मायादेवी रुपन्देहीले आइतबार भैरहवामा एकदिने शिक्षक तालिम सम्पन्न गरेको छ ।
कक्षा ४ र ५ मा अध्यापनरत शिक्षकलाई लक्षित गरी आयोजित तालिममा प्याब्सन मायादेवी अन्तर्गतका १५ सदस्य विद्यालयका ८५ जना शिक्षकको सहभागीता थियो । तालिममा निरन्तर विद्यार्थी मूल्यांकन, ग्रेडिङ प्रणाली, सिकाई उपलब्धीको अभिलेखीकरण तथा अभिभावकलाई विद्यार्थीको वास्तविक प्रगति प्रभावकारी रूपमा जानकारी गराउने विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवले आन्तरिक मूल्यांकनलाई केवल परीक्षा र अंकमा सीमित गर्न नहुने बताउनुभयो । उहाँले विद्यार्थीको सिकाइ प्रक्रिया, व्यवहार, सहभागीता, सिर्जनशीलता र समग्र उपलब्धीलाई आधार बनाएर मूल्यांकन गरिनुपर्नेमा जोड दिनुभयो । सरकारले लागू गरेको नयाँ मूल्यांकन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकलाई समयानुकुल ज्ञान र सीप आवश्यक पर्ने भएकाले तालिम आयोजना गरिएको अध्यक्ष यादवको भनाइ छ । उहाँले शिक्षकको पेशागत क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।
त्यस्तै प्याब्सन मायादेवीका संस्थापक अध्यक्ष भरत गिरी गोसाईले सरकारले लागू गरेको नयाँ विद्यार्थी मूल्यांकन प्रणालीलाई विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न यस्ता तालिम आवश्यक रहेको बताउनुभयो । तालिमबाट प्राप्त ज्ञान र सीपलाई शिक्षकहरूले विद्यालयमा व्यवहारमा उतार्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले प्याब्सन मायादेवीले स्थापनाकालदेखि नै शिक्षक क्षमता विकासका तालिम र अतिरिक्त शैक्षिक गतिविधिलाई निरन्तरता दिँदै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्याब्सन मायादेवी प्रमुख सल्लाहकार लक्ष्मीप्रसाद भुसालले तालिमबाट हासिल भएको ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न शिक्षकहरूलाई आग्रह गर्नुभयो ।उहाँले यस्ता कार्यक्रमले शिक्षकको पेशागत दक्षता अभिवृद्धि हुनुका साथै विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा सहजीकरण गर्दै प्याब्सन तिलोत्तमाका सचिव चन्द्र अधिकारीले आधुनिक मूल्यांकन विधि, ग्रेडिङ प्रणाली, निरन्तर विद्यार्थी मूल्यांकन तथा अभिलेखीकरणका व्यवहारिक पक्षबारे प्रशिक्षण दिनुभयो । उहाँले आन्तरिक मूल्यांकनको उद्देश्य विद्यार्थीलाई असफल घोषणा गर्नु नभइ उनीहरूको वास्तविक सिकाइ अवस्थाको पहिचान गरी सुधारका अवसर सिर्जना गर्नु रहेको स्पष्ट पार्नुभयो । मूल्यांकन प्रक्रिया निष्पक्ष, पारदर्शी र प्रमाणमा आधारित हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
तालिममा सहभागी शिक्षकहरूले विद्यालयमा आन्तरिक मूल्यांकन कार्यान्वयनका क्रममा देखिएका अन्योल हटाउन कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले तालिमबाट प्राप्त ज्ञानले विद्यार्थीको सिकाइ उपलब्धिको वस्तुनिष्ठ मूल्यांकन, व्यवस्थित अभिलेखीकरण तथा अभिभावकसँगको शैक्षिक समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
समूह छलफल, प्रस्तुतीकरण तथा अनुभव आदान–प्रदानसमेत समावेश गरिएको तालिममा आन्तरिक मूल्यांकनका व्यवहारिक पक्षबारे अभ्यास गराइएको थियो ।
प्याब्सन मायादेवीका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक राजेश यादवले यस्ता क्षमता विकासमूलक तालिमले शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमबाट विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धिमा वृद्धि तथा सरकारले लागू गरेको आन्तरिक मूल्यांकन प्रणालीको प्रभावकारी कार्यान्वयनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्याब्सन मायादेवीका सचिव बृजुनाथ सिंहको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij