२०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

लायन्स भैरहवा लिगेसी र मर्चवार प्रेस क्लबद्वारा वृक्षारोपण

आइतवार , श्रावण १७, २०८३

  • 883
    Shares
  • 883
    Shares
  • मर्चवार, १७ साउन । रुपन्देहीका दुई सामाजिक संस्थाले संयुक्त रूपमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन् । मर्चवार प्रेस क्लब रुपन्देही र लायन्स क्लब अफ भैरहवा लिगेसीको संयुक्त आयोजनामा कोटहीमाई गाउँपालिका–५ स्थित दुईमुहान पुल नजिक फलफूल तथा विभिन्न प्रजातिका ५१ वटा विरुवा रोपिएको हो । कार्यक्रम इलाका प्रहरी कार्यालय मझगावाँ र सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) मझगावाँको सहकार्यमा सम्पन्न भएको थियो । 

    मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ताले समाजका आवाज उठाउने जिम्मेवारीसँगै वातावरण संरक्षणमा पनि योगदान पुर्याउने उद्देश्यले साउन १५ गते परेको आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    2.jpg

    लायन्स क्लब अफ भैरहवा लिगेसीका अध्यक्ष नारायण प्रसाद कोइरालाले स्वच्छ वातावरण निर्माण, हरियाली प्रवद्र्धन तथा चराचुरुङ्गीका लागि खाद्य स्रोत वृद्धि गर्ने उद्देश्यले क्लबले साउन महिनाभर विभिन्न स्थानमा वृक्षारोपण अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार क्लबका निवर्तमान अध्यक्ष राजन शुक्ला तथा वर्ष २०२६–२०२७ का जनसम्पर्क अधिकारी हृदयराम गुप्ताको जन्मदिनको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष कोइरालाले वृक्षारोपणसँगै रोपिएका विरुवाको संरक्षणमा सबै पक्षको सक्रिय सहभागीता आवश्यक रहेकोमा जोड दिनुभयो ।

    कार्यक्रममा कोटहीमाई गाउँपालिका–५ का वडाध्यक्ष संजयकुमार सैनीले वृक्षारोपण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँल रोपिएका बिरुवाको संरक्षणका लागि वडा कार्यालय पूर्ण रूपमा प्रतिबद्ध रहने बताउनुभयो । उहाँले भन्नुभयो–‘विरुवा मानव जीवन, वातावरण तथा सम्पूर्ण जीवजन्तुको अस्तित्वसँग प्रत्यक्ष रूपमा जोडिएको छ । त्यसैले रोपिएको प्रत्येक विरुवाको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो ।’

    वृक्षारोपण कार्यक्रममा इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक तपेन्द्र बिष्ट, सशस्त्र प्रहरी बल मझगावाँका प्रमुख प्रहरी निरीक्षक विकास थापा, लायन्स क्लब अफ भैरहवा लिगेसीका निवर्तमान अध्यक्ष राजन शुक्ला, संस्थापक अध्यक्ष रविकान्त उपाध्याय, मर्चवार प्रेस क्लबका सचिव असलम खान, कोषाध्यक्ष जैस मोहम्मद खान, सदस्यहरू धनञ्जय उपाध्याय शिवदास गुप्ता लगायतको सहभागीता थियो ।

    कार्यक्रममा रोपिएका विरुवाको नियमित संरक्षण र हेरचाहमा सम्बन्धित निकाय तथा स्थानीय समुदायले सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।