२०८३, श्रावण १६ गते

Aug 01 2026 | २०८३, श्रावण १६ गते

नेपाल–बंगलादेशसँग व्यापार विस्तारमा सहकार्य गर्ने राजदूत रहमानको प्रतिवद्धता

शनिवार , श्रावण १६, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • बुटवल, १६ साउन । रूपन्देही उद्योग संघले नेपालका लागि बंगलादेशका राजदूत मोहमद साफिकुर रहमानलाई स्वागत गर्दै नेपाल–बंगलादेशबीचको व्यापार, लगानी तथा औद्योगिक सहकार्य विस्तारका विषयमा अन्तरक्रिया गरेको छ ।

    शुक्रबार संघको कार्यालयमा आयोजित कार्यक्रममा यस क्षेत्रको औद्योगिक अवस्था, निर्यात–आयातका चुनौती, लगानीका सम्भावना तथा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा उद्योगी–व्यवसायी र राजदूत रहमानबीच विस्तृत छलफल भएको थियो ।

    राजदूत रहमानले नेपाल र बंगलादेशबीच व्यापारिक सम्बन्ध विस्तारका लागि विद्यमान अवरोध हटाउन आफूले आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालबाट बंगलादेशमा निर्यात गर्न सकिने वस्तु, बंगलादेशबाट नेपालमा आयात भइरहेका सामग्री तथा दुवै देशका निजी क्षेत्रबीच सहकार्यका सम्भावनाबारे विशेष चासो व्यक्त गर्नुभयो । उहाँले दुई देशबीचको व्यापारिक सम्बन्ध अझै विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीका सुझावलाई सम्बन्धित निकायसम्म पुर्याउने विश्वास दिलाउनुभयो । नेपाल र बंगलादेशबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

    रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले रुपन्देही औद्योगिक उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास भइरहेको बताउँदै नेपालबाट निर्यात भइरहेका उत्पादनलाई बंगलादेशी बजारमा सहज पहुँच दिलाइदिन आग्रह गर्नुभयो । उहाँले बंगलादेशबाट आयात हुने कच्चापदार्थ तथा अन्य वस्तुको आयात प्रक्रियालाई पनि सहज बनाउन आवश्यक सहजीकरण गर्न राजदूत रहमानसँग अनुरोध गर्नुभयो ।

    अध्यक्ष पराजुलीले बंगलादेशका उद्योगी तथा लगानीकर्तालाई नेपालमा लगानीका लागि सकारात्मक वातावरण रहेको सन्देश दिन आग्रह गर्दै पर्यटन, ऊर्जा, कृषि प्रशोधन र उत्पादनमूलक उद्योगमा सहकार्यको प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो । सो अवसरमा उहाँले रुपन्देही उद्योग संघको गतिविधि, अल्पकालिन तथा दिर्घकालिन कार्यक्रमहरुको सन्दर्भमा जानकारी गराउनुभयो ।

    संघका महासचिव सुमन बस्यालले नेपाली युवाले उद्योग क्षेत्रमा उल्लेखनीय लगानी गरिरहेको बताउँदै नेपालमा उत्पादित कृषि, खाद्य तथा औद्योगिक वस्तु बंगलादेशी बजारमा प्रतिष्पर्धी बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रबीच प्रत्यक्ष सम्पर्क बढाउन दुवै देशका उद्योग संगठनबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
    संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले नेपाल र बंगलादेशबीच भौगोलिक तथा जलवायुको समानतासँगै ठूलो बजार रहेको उल्लेख गर्दै द्विपक्षीय व्यापार विस्तारका लागि नियमित व्यापारिक भ्रमण, प्रदर्शनी तथा व्यवसाय–व्यवसाय (बी–टु–बी) भेटघाट आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा उत्पादन भएको स्वच्छ जलविद्युत् बंगलादेशसम्म निर्यात गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै उर्जा व्यापारले दुई देशको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने धारणा राख्नुभयो ।

    कार्यक्रममा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवाल, गोयनका फुड्सका विकास गोयन्का, संघका सल्लाहकार ऋषि भण्डारीलगायत उद्योगी–व्यवसायीले बंगलादेशको आयात–निर्यात नीति, भन्सार प्रक्रिया, व्यापार सहजीकरण तथा लगानीका अवसरबारे जिज्ञासा राख्नुभएको थियो ।

    छलफलका क्रममा दुवै पक्षले नेपाल–बंगलादेशबीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्न निजी क्षेत्रबीच निरन्तर संवाद, उद्योगीहरूको पारस्परिक भ्रमण तथा व्यापार सहजीकरणका विषयमा सहकार्य अघि बढाउने सहमति जनाएका थिए । कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार एवं कार्यसमिति सदस्यहरुको उपस्थिति थियो ।