२०८३, श्रावण १६ गते

Aug 01 2026 | २०८३, श्रावण १६ गते

बुद्ध सामुदायिक सेवा समाजका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

शनिवार , श्रावण १६, २०८३

  • 187
    Shares
  • 187
    Shares
  • भैरहवा, १६ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित श्री नवदुर्गा माध्यमिक विद्यालय, दोगहराले बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी केन्द्र सिद्धार्थनगर ४, ६, १० र ११ को १५ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ ।

    विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द यादवको अध्यक्षता तथा समाजसेवी सिद्धिक अलीको प्रमुख आतिथ्यतामा बुद्ध सामुदायिक सेवा समाजका अध्यक्ष श्रीचन्द्र जयसवाललाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो । सोही अवसरमा युवा समाजसेवी सिनपा–४ ले पनि प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ । कार्यक्रममा नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिएको थियो ।

    कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द यादवले श्री नवदुर्गा माध्यमिक विद्यालय शून्य अवस्थाबाट पुनर्जीवित हुँदै अहिले उल्लेखनीय प्रगति गर्न सफल भएको दावी गर्नुभयो । उहाँका अनुसार एक समय बन्द हुने अवस्थामा पुगेको विद्यालय विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय समुदायको संयुक्त प्रयासबाट अहिले ६ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने शैक्षिक संस्थाका रूपमा विकसित भएको छ । अध्यक्ष यादवले विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यममा निःशुल्क अध्ययनको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले विभिन्न सुधारका कार्यक्रम अघि बढाइएको बताउनुभयो ।

    उहाँले गरिब तथा विपन्न परिवारका विद्यार्थी पनि आर्थिक रूपमा सम्पन्न परिवारका बालबालिकासरह गुणस्तरीय शिक्षा प्राप्त गर्नुपर्ने आफ्नो सोच रहेको उल्लेख गर्दै त्यसैअनुसार विद्यालयलाई अघि बढाइएको बताउनुभयो । आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षण र विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिइने उहाँको भनाइ थियो।

    db5c2b6b-a3e0-4e3a-8fba-cf5ccfa00388.jpg

    बुद्ध सामुदायिक सेवा समाजका अध्यक्ष श्रीचन्द्र जयसवालले विद्यालय तथा युवा समाजसेवी सिद्धार्थनगर–४ ले आफूहरूलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सम्मानले सामाजिक सेवामा थप जिम्मेवार बन्न प्रेरणा मिलेको बताउँदै विद्यालय र सामाजिक संस्थाले सञ्चालन गर्ने जनहितका कार्यक्रमहरूमा आफ्नोतर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि समाजसेवी सिद्धिक अलीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले शिक्षा क्षेत्रमा भइरहेको सकारात्मक पहललाई निरन्तरता दिँदै सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । बुद्ध सामुदायिक सेवा समाज र सामुदायिक प्रहरी केन्द्रले सामाजिक सद्भाव, नागरिक सचेतना र समुदाय–प्रहरी साझेदारीका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

    विद्यालयका प्रधानाध्यापक दीपेन्द्र कुमार गौडले विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय सुधारमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र सहयोगी संस्थाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले विद्यालयमा गुणस्तरीय शिक्षासँगै अनुशासन, नैतिक शिक्षा र अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । 

    सम्मान कार्यक्रमपछि सहभागीहरूले विद्यालयको भौतिक पूर्वाधार, कक्षाकोठा, पुस्तकालय, पठनपाठनको वातावरण तथा सञ्चालन भइरहेका शैक्षिक गतिविधिको अवलोकन गरेका थिए । सो क्रममा विद्यालयले हालसम्म गरेको शैक्षिक तथा पूर्वाधार विकासबारे विद्यालय प्रशासनले जानकारी गराएको थियो ।