२०८३, श्रावण १४ गते

Jul 30 2026 | २०८३, श्रावण १४ गते

स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग

बिहिवार , श्रावण १४, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • काठमाडौं, १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले स्वास्थ्यकर्मीहरूमाथि हुने श्रृङ्खलावद्ध भौतिक आक्रमण र दुव्र्यवहारप्रति ध्यानाकर्षण गराउँदै दोषीलाई कडा कारबाही र सुरक्षाको पूर्ण प्रत्याभूति गर्न सरकारसँग माग गर्नुभएको छ । 

    बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले स्वास्थ्य क्षेत्रमा व्याप्त दण्डहीनता र प्रशासनिक लाचारीका कारण अस्पतालहरू असुरक्षित बन्दै गएको बताउनु भयो ।

    सांसद कार्कीले अस्पतालभित्र चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने कुटपिट, त्यसपछि हुने आन्दोलन र सरकारसँग गरिने कागजी सम्झौताको ‘दुश्चक्र’ वर्षौँदेखि चलिरहेको उल्लेख गर्नुभयो ।

    हालै वीरगन्जस्थित नारायणी अस्पतालमा भएको चिकित्सकमाथिको सांघातिक हमलापछि भएको सहमति कार्यान्वयन नहुँदै भक्तपुर अस्पतालमा पुनः स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार हुनुले राज्यको सुरक्षा संयन्त्रको असफलता पुष्टि गरेको उहाँको तर्क छ ।

    डा. कार्कीले करिव ४५ देखि ५० प्रतिशत चिकित्सकहरूले कार्यस्थलमा कुनै न कुनै रूपमा हिंसा भोगिरहेको बताउनु भयो । उहाँकाअनुसार ४२ प्रतिशत भौतिक आक्रमण र ६४ प्रतिशत मौखिक दुव्र्यवहारका घटनामा दोषीलाई राजनीतिक संरक्षण दिइने र कारबाही नगरिने प्रवृत्तिले अस्पतालहरू ‘रणमैदान’ मा परिणत भएका छन् । 

    उहाँले भन्नुभयो,‘सरकार र चिकित्सक संघबीच पटक–पटक सम्झौता त हुन्छन्, तर कार्यान्वयनको पाटो फितलो हुँदा समस्या समाधान हुन सकेको छैन । डाक्टरको हात काँपिरहेको छ र मन त्रसित छ । आफ्नै जीवन जोगाउन डराउनुपर्ने अवस्थामा चिकित्सकले बिरामीको प्रभावकारी उपचार कसरी गर्ने ?’

    उहाँले स्वास्थ्यकर्मीहरूले कार्यस्थलमा सुरक्षा र आत्मविश्वास खोजिरहेको स्पष्ट पार्नुभयो ।