बिहिवार , श्रावण १४, २०८३
काठमाडौं, १४ साउन । मलेसिया विश्व बैंकले निर्धारण गरेको उच्च आय भएको मुलुकको सूचीमा समावेश हुन आवश्यक मापदण्डको निकै नजिक पुगेको छ ।
मलेसियाका आर्थिक मामिला मन्त्री अकमल नसरुल्लाह मोहम्मद नासिरले दिनुभएको जानकारीअनुसार मलेसिया उक्त सीमाभन्दा अब मात्र ७.१ प्रतिशतले पछाडि रहेको छ ।
मन्त्री नासिरले सन् २०२६ को दोस्रो त्रैमासिकमा मलेसियाको अर्थतन्त्र ५.८ प्रतिशतले विस्तार भएको जानकारी दिनुभयो । यो वृद्धिदर अघिल्लो त्रैमासिकको ५.४ प्रतिशतको तुलनामा बढी हो ।
ओईसीडी आर्थिक सर्वेक्षणः मलेसिया २०२६ सार्वजनिक गर्ने क्रममा उहाँले वर्तमान आर्थिक गतिशीलतालाई उच्च उत्पादकत्व, गुणस्तरीय रोजगारी र नागरिकको आम्दानी वृद्धिमा रूपान्तरण गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
मन्त्री अकमलले भन्नुभयो, ‘यी उत्साहजनक तथ्याङ्क हुन्, तर निर्धारित मापदण्ड पूरा गर्नु मात्रै हाम्रो अन्तिम उद्देश्य होइन। हाम्रा लागि आर्थिक वृद्धिले नागरिकको पारिश्रमिकमा सुधार, गुणस्तरीय रोजगारीको सिर्जना र क्रयशक्तिमा कत्तिको वृद्धि गर्छ भन्ने कुरा महत्वपूर्ण रहन्छ ।’
मलेसिया सरकारले सन् २०२६ का लागि आफ्नो आर्थिक वृद्धि दरको प्रक्षेपण ४ देखि ५ प्रतिशत नै कायम राखेको छ । आन्तरिक माग, निजी लगानी र निर्यातका साथै सेमीकन्डक्टर तथा डाटा सेन्टर जस्ता प्रविधिमा आधारित उद्योगहरूले मुलुकको आर्थिक वृद्धिलाई बल पु¥याइरहेको बताइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij