बिहिवार , श्रावण १४, २०८३
बुटवल, १४ साउन । बुटवल अटो इन्जिनियरिङ्ग एशोसिएशन, रुपन्देही–लुम्बिनीले आफ्नो ३१ औं स्थापना दिवस विभिन्न सामाजिक, वातावरणीय, स्वास्थ्य तथा खेलकुद कार्यक्रम सम्पन्न गर्दै बुधबार समापन गरेको छ । ‘आफ्नो पेशाको सम्मान गरौं, अटो मेकानिक्स हुनुमा गर्व गरौं’ भन्ने मूल नारासहित साउन ३ गतेदेखि सञ्चालन गरिएको एक साताव्यापी कार्यक्रमको सम्मान समारोहमार्फत गरिएको हो ।
समारोहका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले अटो क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेकाले व्यवसायी तथा प्राविधिकहरू अब विद्युतीय (इभी) सवारीसाधनको मर्मत तथा प्रविधिमा दक्ष हुनुपर्ने बताउनुभयो । उहाँले विश्वभर इभी सवारीको प्रयोग बढ्दै गएको उल्लेख गर्दै उनले समयअनुसार सीप र प्रविधिलाई अद्यावधिक गर्न नसके प्रतिष्पर्धामा टिक्न कठिन हुने भएकाले अटो मेकानिक्सलाई आधुनिक प्रविधिमैत्री बन्न आग्रह गर्नुभयो ।
एशोसिएशनका अध्यक्ष प्रेम गौचनले ३१ वर्षदेखि संस्थाले अटो व्यवसायीको हकहित, व्यवसायिक मर्यादा र दक्ष जनशक्ति उत्पादनका लागि निरन्तर काम गर्दै आएको बताउनुभयो । उहाँले बदलिँदो प्रविधिसँगै सदस्यहरूको क्षमता अभिवृद्धिका लागि आगामी दिनमा इभी प्रविधिसम्बन्धी तालिम, सीप विकास तथा व्यवसाय प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिइने जानकारी दिनुभयो । स्थापना दिवस सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य, सहयोगी संस्था तथा शुभेच्छुकप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, अटोमेकानिक्स व्यवसायी महासंघका निवर्तमान अध्यक्ष जनार्धन गैरे, सामाजिक सुरक्षा कोष बुटवल रुपन्देही कार्यालयका प्रमुख केदार पोखरेल, एशोसिएशनका निवर्तमान अध्यक्ष तुल्सीराम न्यौपाने, संरक्षण सल्लाहकार ज्योति भण्डारी, उपाध्यक्ष बाबुराम आचार्य तथा महासचिव पुनित पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै अटो क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै दक्ष जनशक्ति उत्पादन, सामाजिक सुरक्षा र व्यवसायको संस्थागत विकासमा जोड दिनुभयो ।
स्थापना दिवसको अवसरमा साउन ३ गते अटो भिलेज परिसरमा सरसफाई तथा डस्टबीन वितरण, साउन ४ गते बृहत् रक्तदान, साउन ५ गते वृक्षारोपण, साउन ८ गते ब्याडमिन्टन प्रतियोगिता तथा साउन ९ गते फुटसल प्रतियोगितालगायतका कार्यक्रम सम्पन्न भएको थियो । सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण, रक्तदानमार्फत मानवीय सेवा र खेलकुदमार्फत सदस्यबीच आपसी एकता तथा भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एशोसिएशनले जनाएको छ ।
समापन समारोहमा स्थापना दिवस अन्तर्गत आयोजित विभिन्न कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सदस्य, सहयोगी तथा सक्रिय सहभागीहरूलाई सम्मानसमेत गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij