२०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

बुटवल अटो इन्जिनियरिङ एशोसिएशनको स्थापना दिवसमा सरसफाई कार्यक्रम

आइतवार , श्रावण ३, २०८३

  • 547
    Shares
  • 547
    Shares
  • बुटवल, ३ साउन । बुटवल अटो इन्जिनियरिङ एशोसिएशन, रूपन्देही–लुम्बिनीको ३१ स्थापना दिवसको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम शनिबारदेखि सुरु भएको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै एसोसिएसनले पहिलो दिन बुटवल उपमहानगरपालिका–२, मेनाबगरस्थित अटो भिलेज परिसरमा सरसफाई तथा डस्टबीन वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

    वातावरण संरक्षण, सरसफाइ प्रवद्र्धन तथा सार्वजनिक स्थललाई स्वच्छ राख्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा अटो भिलेज क्षेत्रको सरसफाइ गर्नुका साथै विभिन्न स्थानमा डस्टबीनसमेत वितरण गरिएको थियो । एशोसिएशनले स्थापना दिवसलाई औपचारिक समारोहमा सीमित नराखी समुदायलाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक तथा जनहितका कार्यक्रममार्फत मनाउने नीति अनुरूप अभियान सञ्चालन गरेको जनाएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै एशोसिएशनका पूर्वअध्यक्ष बाबुलाल पाण्डेले संस्थाले व्यवसायिक हितका विषयमा मात्र नभइ आफ्नो कार्यक्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सरसफाइजस्ता अभियानलाई निरन्तरता दिँदै आएको बताउनुभयो । उहाँले यस्ता गतिविधिले व्यवसायिक समुदाय र सर्वसाधारणबीच सकारात्मक सन्देश प्रवाह गर्नुका साथै वातावरण संरक्षणमा समेत योगदान पुग्ने बताउनुभयो ।

    एशोसिएशनका अध्यक्ष प्रेम गौचनले ३१ औं स्थापना दिवसका अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम तय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार साउन ३ गतेदेखि १३ गतेसम्म सामाजिक, स्वास्थ्य, वातावरण तथा खेलकुदसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । स्थापना दिवसलाई समाजसँग जोडेर समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गतिविधिलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो।
    अध्यक्ष गौचनले सम्पूर्ण सदस्य, व्यवसायी तथा सरोकारवालालाई सप्ताहव्यापी कार्यक्रममा सक्रिय सहभागीता जनाउन आग्रह गर्नुभयो । संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    एसोसिएशनका महासचिव पुनित पोखरेलका अनुसार साउन ४ गते वृहत् रक्तदान कार्यक्रम, ६ गते वृक्षारोपण, ८ गते ब्याडमिन्टन प्रतियोगिता, ९ गते फुटसल प्रतियोगिता तथा १३ गते समापन एवं पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ । यी कार्यक्रममार्फत सदस्यबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै समाजप्रति संस्थाको दायित्वलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो।

    कार्यक्रम संयोजक दीपक पंगेनीले एशोसिएशनले मैनाबगर अटो भिलेज क्षेत्रमा लामो समयदेखि नियमित सरसफाई तथा वातावरण संरक्षणसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । यस्ता अभियानका कारण पछिल्लो समय क्षेत्रको सरसफाई व्यवस्थापनमा उल्लेखनीय सुधार देखिएको उहाँको दावी छ ।

    सरसफाई कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति बुटवलको युवा संगठन, सशस्त्र प्रहरी बल, सुरक्षा बेस बुटवल, मध्यपश्चिम पृतना ईएमई गण योगीकुटी, फूलबारी सहकारी, धनवर्षा सहकारी, सिर्जनशील दिदीबहिनी आमा समूहलगायत विभिन्न संघ–संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागीता थियो ।

    एशोसिएशनले स्थापना दिवसका अवसरमा सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रममार्फत सामाजिक सेवा, वातावरण संरक्षण, स्वास्थ्य सचेतना तथा खेलकुद गतिविधिलाई एकसाथ अघि बढाउँदै समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरेको छ ।