२०८३, श्रावण ३ गते

Jul 19 2026 | २०८३, श्रावण ३ गते

इन्टर्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी गठन, चार्टर सदस्यहरूलाई अभिमुखीकरण

आइतवार , श्रावण ३, २०८३

  • 811
    Shares
  • 811
    Shares
  • भैरहवा, ३ साउन । युवा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा सेवामूलक संस्कृतिको विस्तार गर्ने उद्देश्यका साथ रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको प्रायोजनमा इन्टर्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी नामक समुदायमा आधारित नयाँ इन्टर्याक्ट क्लब गठन गरिएको छ । १६–१८ वर्ष उमेर समूहका ३५ जना किशोर–किशोरीहरू क्लबको चार्टर सदस्य छन् ।

    क्लबको चार्टर अध्यक्षमा आर्यन भण्डारी चयन हुनुभएको छ । क्लबको सह–प्रायोजक रोटर्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी छ । नवगठित क्लबका सदस्यहरूलाई इन्टर्याक्टको उद्देश्य, मूल्य, नेतृत्व र सेवामूलक गतिविधिबारे जानकारी गराउने उद्देश्यले रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले सदस्य अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

    रोटरीका असाइन्ड असिस्टेन्ट गभर्नर नुमलाल पौडेलले युवाहरूलाई समाज परिवर्तनका सशक्त वाहकका रूपमा अघि बढ्न प्रेरित गर्नुभयो । उहाँले रोटरी परिवारसँगको आबद्धताले उनीहरूमा नेतृत्व, अनुशासन, सेवा भाव र विश्वव्यापी मित्रताको भावना विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

    असिस्टेन्ट गभर्नर रोटेरियन डा.शतदल चौधरीले आजका युवालाई सही दिशा, सकारात्मक सोच र सेवामूलक कार्यमा संलग्न गराउन इन्टर्याक्टको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । त्यस्तै रोटरीका पूर्वअध्यक्ष तथा नेपाल बाल कल्याण संस्थाका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलले सामाजिक उत्तरदायित्व, नैतिक मूल्य र नेतृत्व विकासका लागि युवाहरूले यस्ता संस्थामा सक्रिय सहभागीता जनाउनुपर्नेमा जोड दिनुभयो ।

    अभिमुखीकरण कार्यक्रममा इन्टर्याक्ट जिल्ला समितिका अध्यक्ष निश्चल गौतमले इन्टर्याक्टको इतिहास, उद्देश्य र विश्वव्यापी प्रभावबारे प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस्तै सुमन भट्टराईले इन्टर्याक्ट सदस्यको भूमिका, जिम्मेवारी तथा नेतृत्व विकासका अवसरबारे विस्तृत जानकारी गराउनुभएको थियो ।

    त्यसै गरी जोनल इन्टर्याक्टर प्रतिनिधि विधान भण्डारीले इन्टर्याक्ट क्लबका विविध गतिविधि, परियोजना तथा व्यक्तिगत विकासका अवसरबारे जानकारी गराउँदै नयाँ सदस्यहरूलाई सेवामूलक अभियानमा सक्रिय हुन आग्रह गर्नुभयो ।
    चार्टर अध्यक्ष आर्यन भण्डारीले क्लब स्थापना गर्ने अवधारणाबारे प्रकाश पार्दै भन्नुभयो, ‘एसईई उत्तीर्ण गरेपछि भैरहवाका साथीहरू बुटवल र भैरहवाका विभिन्न कलेजहरूमा अध्ययनका लागि छरिएर रहेका छन् । उनीहरूलाई फुर्सदको समयमा एउटै साझा मञ्चमा जोड्दै नेतृत्व विकास, व्यक्तित्व निर्माण, सीप अभिवृद्धि र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यले यो समुदायमा आधारित इन्टर्याक्ट क्लब स्थापना गरिएको हो ।’

    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष गंगाधर भण्डारीले क्लबले युवाहरूको व्यक्तिगत, व्यावसायिक तथा सामाजिक क्षमता अभिवृद्धिका लागि निरन्तर मार्गदर्शन, प्रशिक्षण, परामर्श तथा अवसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आजका युवालाई भविष्यका जिम्मेवार नागरिक, सफल व्यवसायी, दक्ष पेशाकर्मी तथा मानवीय नेतृत्वका रूपमा विकास गराउन रोटरी सदैव साथमा रहने बताउनुभयो ।

    WhatsApp Image 2026-07-19 at 12.50.20 PM.jpeg

    कार्यक्रममा रोटरी तथा रोटर्याक्टका पदाधिकारी, सदस्यहरू, अभिभावक तथा नवगठित इन्टर्याक्ट क्लबका सदस्यहरूको सहभागीता थियो । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा समुदायमा आधारित इन्टर्याक्ट क्लबको स्थापना युवाहरूलाई नेतृत्व, सेवा, मित्रता र सामाजिक उत्तरदायित्वसँग जोड्ने दूरदर्शी अभियानका रूपमा हेरिएको छ । यस पहलले युवाहरूलाई सकारात्मक उर्जा, सिर्जनशीलता र सेवामूलक कार्यमार्फत समाजमा दिगो प्रभाव सिर्जना गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ ।