बुधवार , आषाढ ३१, २०८३
काठमाडौँ, ३१ असार । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले मुलुकमा बढ्दो आत्मदाह र मानसिक स्वास्थ्य समस्या समाधानका लागि अविलम्ब ‘मानसिक स्वास्थ्य परिषद्’ गठन गर्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद खनालले पछिल्लो समय घटिरहेका आत्मदाहका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै राज्यको ध्यानाकर्षण गराउनुभएको हो ।
सांसद खनालले समाज विकास र विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारे पनि नागरिकको मानसिक स्वास्थ्यको अवस्था झन् संवेदनशील बन्दै गएको बताउनु भयो ।
उहाँले बढ्दो डिप्रेसन र चिन्ता जस्ता समस्याले समाजलाई आक्रान्त बनाएको उल्लेख गर्दै हाल उपलब्ध सेवाहरू सीमित, असमान र राजधानी केन्द्रित मात्र भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अब हामीले मानसिक स्वास्थ्यको विषयमा गहिरो चिन्तन तथा छलफल गर्ने समय आएको छ । बढ्दो डिप्रेसन, चिन्ता, आत्मदाहका घटनाले समाजलाई अझै संवेदनशील बनाएको छ ।
यस सम्बन्धी काम गर्ने संयन्त्र तथा सेवाहरु अझै सिमित, असमानता र राजधानी केन्द्रित मात्र देखिएको छ । यसले राज्यले चाहँदाचाहँदै पनि त्यति काम गर्न पाइरहेको छैन। त्यसैले मानसिक स्वास्थ्य रोगसँग सम्बन्धित मात्र छैन सभामुख महोदय, यो जैविक, मनोवैज्ञानिक र सामाजिक (सोसियल) पक्षको पनि सन्तुलन हो ।
त्यसैले अब अबिलम्ब नगरी मानसिक स्वास्थ्य सम्बन्धी नीतिमा परिमार्जन एवं नवीनतम नीति निर्माणको तर्जुमा गर्न एकजुट हुन आवश्यक छ । वर्तमान चुनौतीलाई सम्बोधन गर्न सफल पार्नका निम्ति साथै एक सशक्त मानसिक स्वास्थ्य परिषदको गठन गर्न म राज्यलाई अनुरोध गर्न चाहन्छु ।’
उहाँले मानसिक स्वास्थ्य सम्बन्धी विद्यमान नीतिमा परिमार्जन गरी नवीन नीति तर्जुमा गर्न र दक्ष एवं इजाजत प्राप्त मनोवैज्ञानिकहरू संलग्न हुनेगरी एक शक्तिशाली ‘मानसिक स्वास्थ्य परिषद्’ स्थापना गर्न सरकारसँग आग्रह गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij