बुधवार , आषाढ ३१, २०८३
काठमाडौँ, ३१ असार । बेल्जियमको राजधानी ब्रसेल्सस्थित एक निर्माणाधीन भवनमा मङ्गलवार बिहान भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।
ब्रसेल्स लेबर प्रोसिक्युटर कार्यालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले सो घटनाको पुष्टि गरेका हुन् । मध्य ब्रसेल्सको दे ब्रोउकेरे स्क्वायरमा अवस्थित ओएक्सवाई भवनमा आगलागी भएको हो । प्रोसिक्युटर कार्यालयकी प्रवक्ता भ्यालेन्टिना मारोचीकाअनुसार भवनको लिफ्टभित्र ६ जनाको शव फेला परेको थियो ।
मारोचीले भनिन्, ‘हामीले पहिलो लिफ्ट खोल्न सफल भयौँ र त्यसभित्र ६ जना पीडितहरूको शव फेला पार्यौँ। शवहरू लिफ्टबाट बाहिर निकालिसकिएको छ, तर ती व्यक्तिहरू यसअघि बेपत्ता भनिएका ६ जना कामदार नै हुन् वा अन्य हुन् भन्नेबारे हालसम्म आधिकारिक रूपमा पुष्टि भइसकेको छैन ।’
घटनास्थलमा उद्धार र खोजी कार्य जारी रहेको बताइएको छ । अन्य कोही हताहती भए÷नभएको यकिन गर्न दोस्रो लिफ्टको पनि विस्तृत जाँच भइरहेको छ । हाल व्यापक पुनर्निर्माण र मर्मतसम्भारको क्रममा रहेको सो ऐतिहासिक भवनमा कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij