शनिवार , आषाढ २७, २०८३
बुटवल, २७ असार । रुपन्देही प्रहरीले बैंकिङ कसुर मुद्दामा एक महिलालाई पक्राउ गरेको छ । सैनामैना नगरपालिका स्थायी घर भइ हाल बुटवल उपमहानगरपालिका–दीपनगर बस्दै आएकी पार्वती पन्त पौडेललाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पौडेलले जग्गा खरीद–विक्रीको कारोबारका क्रममा दिएको ११ लाख रुपैयाँ बराबरको चेक जानाजानी भुक्तानी हुन नदिने उद्देश्यले बैंकमा रोक्का गराएको आरोप लागेको छ । उक्त घटनापछि पीडित पक्षको उजुरीका आधारमा अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थम्मन जिसीका अनुसार पौडेलले सैनामैना निवासी सम्राट चन्द (बजाज) बाट जग्गा खरिद गरी नामसारी (पास) म्पन्न भएपछि भुक्तानी स्वरूप ११ लाख रुपैयाँको चेक दिएकी थिइन् । तर, चेक प्राप्त गरेलगत्तै उनी आफै बैंकमा पुगेर चेकबुक हराएको भन्दै उक्त चेकको भुक्तानी रोक्न निवेदन दिएको आरोप छ ।
पीडित सम्राट चन्दले आफूले पाएको चेक बैंकमा साट्न जाँदा भुक्तानी रोक्का गरिएको जानकारी पाएपछि आफू आर्थिक रूपमा ठगिएको भन्दै प्रहरीमा उजुरी दिएको बताएका छन् । प्रहरीले पीडितको जाहेरी तथा प्रारम्भिक अनुसन्धानका आधारमा पक्राउ पुर्जी कार्यान्वयन गर्दै पौडेललाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही, भैरहवा पठाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले पक्राउ परेकी महिलामाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जानकारी दिए । नेपालको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार कुनै व्यक्तिले जानीजानी चेक जारी गरी खातामा पर्याप्त रकम नराख्ने, चेकको भुक्तानी रोक्ने वा प्राप्तकर्तालाई आर्थिक हानी पुर्याउने उद्देश्यले बैंकलाई भुक्तानी रोक्न निर्देशन दिएमा त्यो बैंकिङ कसुर मानिन्छ ।
ऐन अनुसार कसुर प्रमाणित भएमा चेकमा उल्लेख भएको रकम पीडितलाई भराइ दिनुपर्ने, बिगो बराबर जरिवाना लाग्न सक्ने, कैद सजाय हुने वा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था छ । हाल पक्राउ परेकी महिलामाथिको आरोप अनुसन्धानको क्रममा रहेकाले अन्तिम दोषी वा निर्दोष भन्ने विषय अदालतको निर्णयबाट मात्र टुंगो लाग्नेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij