बिहिवार , आषाढ २५, २०८३
बुटवल, २५ असार । औद्योगिकरणको विस्तारमा कानूनी तथा नीतिगत उल्झन रहेको ठहर गर्दै दुई वर्षअघि सुरु भएको सुधारको अभियानले उद्योग स्थापनामा सकारात्मक संकेत देखिएको छ ।
यसअघिको सरकारले वि.सं.२०८१ चैत १८ गते कतिपय ऐनमा सुधार गर्दै संशोधन गरेपछि अहिले विशेष आर्थिक क्षेत्र(सेज) मा उद्योग स्थापना ह्वात्तै बढाएको छ ।
सरकारले २०६० माघ १५ गते विशेष आर्थिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि २०६९ सालमा सेज विकास समिति गठन आदेश–२०१३ अनुसार निकाय स्थापना भयो ।
सेज सञ्चालनलाई कानूनी आधार प्रदान गर्न २०७३ असोज १८ गते विशेष आर्थिक क्षेत्र ऐन–२०७३ लागू भएसँगै विशेष आर्थिक क्षेत्र प्राधिकरण स्थापना भयो । त्यसयता ऐनमा उद्योगमैत्री सुधार गर्दै २०७५, २०८१ असार र २०८१ चैतमा क्रमशः पहिलो, दोस्रो र तेस्रो संशोधन गरिएको थियो ।
उद्योगीलाई आकर्षित गर्न ऐन संशोधन देखि कर तथा भन्सारमा विशेष सहुलियतको व्यवस्था गरिएपछि यसको सकारात्मक प्रभाव सेजहरुमा देखिएको विशेष आर्थिक क्षेत्र प्राधिकरणका सिभिल इन्जिनियर तथा सूचना अधिकारी दिनेश न्यौपानेको भनाइ छ ।
पछिल्लोपटक २०८१ चैत मा भएको ऐन संशोधनले सामान्य क्षेत्रमा सञ्चालन हुने उद्योगभन्दा सेजभित्रका उद्योगले उल्लेखनीय कर छुट पाउने व्यवस्था गरेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । योसँगै पछिल्लो तीन वर्षमा सेजको भैरहवा प्लटमा ११ वटा उद्योगहरु थपिएका छन् ।
नीतिगत सुधारको सकारात्मक प्रभाव
नीतिगत सुधारमध्ये सबैभन्दा महत्वपूर्ण परिवर्तन उद्योगले तिर्नुपर्ने जग्गा भाडादरमा गरिएको छ । सेज सुरु हुँदा उद्योगले प्रति र्गमिटर १५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था थियो । पहिलो संशोधनपछि यो दर २० रुपैयाँ प्रतिवर्गमिटरमा झारियो भने २०८२ सालदेखि लागू हुने गरी ५ रुपैयाँ प्रतिवर्गमिटर कायम गरिएको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ ।
आयकरतर्फ उद्योगले पहिलो पाँच वर्ष शतप्रतिशत छुट र त्यसपछि २५ वर्षसम्म ५० प्रतिशत छुट पाउँने व्यवस्था गरिएको छ । हिमाली तथा पहाडी जिल्लामा स्थापना हुने उद्योगका लागि यो सुविधा अझ बढी उदार बनाइएको छ । त्यहाँ पहिलो १० वर्ष पूर्ण आयकर छुट र त्यसपछि २० वर्षसम्म ५० प्रतिशत छुट प्रदान गरिएको छ । लाभांश वितरणमा पनि पहिलो पाँच वर्ष शतप्रतिशत र त्यसपछि २५ वर्षसम्म ५० प्रतिशत कर छुटको व्यवस्था गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
भन्सारतर्फ उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ सामग्री, प्लान्ट, मेसिनरी, उपकरण, औजार, पार्टपुर्जा तथा दुई वटासम्म सवारीसाधन आयात गर्दा भन्सार महसुल छुटको पनि व्यवस्था गरिएको छ । यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने, स्थानीय कर छुट, उद्योग स्थापना गर्न आवश्यक वस्तु, सेवा, मेसिनरी, कच्चा पदार्थ तथा अन्य सामग्रीमा सहुलियत उपलब्ध गराइएको छ । उद्योगले जग्गा वा भवन भाडा वा लिजमा लिँदा पनि विशेष सुविधा पाउने व्यवस्था छ । उद्योग स्थापना भएको पहिलो वर्ष ५० प्रतिशत, दोस्रो वर्ष ४० प्रतिशत र तेस्रो वर्ष २५ प्रतिशत छुट प्रदान गरिने प्रबन्ध गरिएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।
७५ प्रतिशतबाट ३० मा झारियो निर्यातको सीमा
निर्यात सम्बन्धी व्यवस्थामा पनि उल्लेखनीय लचकता अपनाइएको छ । प्रारम्भिक व्यवस्थाअनुसार सेजभित्रका उद्योगले उत्पादनको ७५ प्रतिशत निर्यात गर्नैपर्ने व्यवस्था थियो । पहिलो संशोधनपछि यो सीमा ६० प्रतिशतमा झारियो । पछिल्लो संशोधनले उद्योगमैत्री व्यवस्था गर्दै उद्योग सञ्चालनको पहिलो तीन वर्ष कुनै निर्यात अनिवार्यता नरहने, चौथो वर्ष १५ प्रतिशत र त्यसपछि ०८१ चैतमा भएको संशोधनबाट ३० प्रतिशत मात्र निर्यात गर्नुपर्ने व्यवस्था गरेको छ ।
पहिले सेज बाहिर सञ्चालनमा रहेका उद्योगलाई सेजभित्र स्थानान्तरण गर्न नपाइने व्यवस्था थियो । अहिले त्यो प्रावधान हटाइएको छ । त्यसैगरी सेजबाहेक अन्य औद्योगिक क्षेत्रमा रहेका उद्योगले पनि निर्यात गर्दा सेजले पाउने सुविधा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।
रोहिणी गाउँपालिका–१ मा रहेको भैरहवा सेज र बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा रहेको सिमरा सेज सञ्चालनमा छन् । भैरहवामा रहेका सबै प्लट भरिएका छन् । यहाँ २० वटा उद्योग स्थापना भएका छन् । यीमध्ये केही नयाँ उद्योग पनि छन् । सिमरामा रहेका पाँचवटा ब्लकमध्ये एउटा भरिएको, दुईवटालाई पीपीपी मोडलमा सञ्चालनको तयारी भएको र दुईवटालाई फरक तरिकाले सञ्चालनको मोडल बनाइरहेको प्राधिकारणको भनाइ छ । त्यस्तै काभ्रेको पाँचखाल र कैलालीको गोदावरीमा प्रस्तावित सेजबारेमा थप सम्भाव्यता अध्ययन भइरहेको प्राधिकरणका सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।
चलायमान बन्दै भैरहवा सेज
भैरहवा सेज अहिले सबैभन्दा सक्रिय औद्योगिक केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ बिघा क्षेत्रफलमा फैलिएको भैरहवा सेजमा ६८ वटा औद्योगिक प्लट निर्माण गरिएको छ । प्लटहरूको आकार १,५०० वर्गमिटरदेखि ३,७०० वर्गमिटरसम्म रहेको छ । हाल करिब ८० प्रतिशत प्लटमा उद्योग स्थापना भएका छन् भने २० प्रतिशत प्लटमा नयाँ उद्योगका लागि बुक भइसकेको सेज भैरहवाका सहायक निर्देशक मेकानिकल इन्जिनियर सबुत डुम्रेले जानकारी दिनुभयो ।
१९ उद्योगमध्ये १२ सञ्चालनमा, ६ निर्माणाधीन, एउटा बन्द
भैरहवा सेजमा हाल १९ वटा उद्योग दर्ता भएका छन् । तीमध्ये १२ उद्योग नियमित सञ्चालनमा, ६ उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् भने १ उद्योग बन्द भएको सेज भैरहवाका सहायक निर्देशक मेकानिकल इन्जिनियर डुम्रेले जानकारी दिनुभयो । पछिल्ला तीन वर्षभित्र मात्रै थप ५ उद्योग सञ्चालनमा आएका छन् भने ६ उद्योग निर्माणको अन्तिम चरणमा रहेको डुम्रेले बताउनुभयो ।
उत्पादनको दायरा विस्तार हुँदै
भैरहवा सेजमा सञ्चालनमा रहेका उद्योगहरूले परम्परागत उत्पादनभन्दा फरक र मूल्य अभिवृद्धियुक्त औद्योगिक वस्तु उत्पादन गरिरहेको सेजले उपलब्ध गराएको विवरणमा उल्लेख छ । यहाँका उद्योगहरूले मुख्य रूपमा खनिजजन्य पदार्थ प्रशोधन, स्टिलका भाँडा उत्पादन (२ उद्योग), एलईडी लाइटका सामग्री, ग्रेनाइट उत्पादन, मेटल रिसाइक्लिङ (३ उद्योग), प्लाष्टिक रिसाइक्लिङ (२ उद्योग), फर्नेस आयल उत्पादन तथा कार्पेट उत्पादन गरिरहेका छन् ।
निर्माणाधीन उद्योगले ल्याउँदै नयाँ प्रविधि
हाल निर्माणाधीन उद्योगहरूको प्रकृति हेर्दा नेपाली उद्योग अब आधुनिक उत्पादनतर्फ उन्मुख भइरहेको स्पष्ट देखिन्छ । निर्माणसम्पन्न भएपछि यहाँ इलेक्ट्रिक साइकल तथा स्कुटर उत्पादन, धातुजन्य प्रशोधन उद्योग, गार्मेन्ट (कपडा उत्पादन), सर्टका बटन, डग च्यु, पिज्जलिज, कम्ब उत्पादन, कृत्रिम गहना उत्पादन तथा डाटा सेन्टर सञ्चालनमा आउने सेजले जनाएको छ । विशेष गरी विद्युतीय सवारीसाधन, डाटा सेन्टर तथा आधुनिक उत्पादन उद्योगको आगमनले सेजलाई नयाँ पुस्ताको औद्योगिक केन्द्रका रूपमा रूपान्तरण गर्ने अपेक्षा गरिएको सेजको भनाइ छ ।
बढ्दै उत्पादन र विक्री
भैरहवा सेजबाट उत्पादन तथा विक्रीमा पछिल्ला वर्षहरूमा उल्लेखनीय वृद्धि देखिएको छ । आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म यहाँका उद्योगहरूले कुल ७६८ करोड ६१ लाख रुपैयाँ बराबरको उत्पादन विक्री गरेको सेजको विवरणमा उल्लेख छ । यसमध्ये ४५० करोड ४२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ भने ३१८ करोड १९ लाख रुपैयाँ बराबरको विक्री आन्तरिक बजारमा भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा मात्रै १८८ करोड ६६ लाख रुपैयाँ बराबरको विक्री भएको थियो । यसमध्ये ९८ करोड ९६ लाख रुपैयाँको निर्यात तथा ८९ करोड ७० लाख रुपैयाँको आन्तरिक विक्री भएको थियो ।
त्यसै गरी चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म नै २०७ करोड ३६ लाख रुपैयाँ बराबरको बिक्री भइसकेको छ । यसमध्ये १०३ करोड १८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ भने १०४ करोड १८ लाख रुपैयाँ बराबरको बिक्री स्वदेशी बजारमा भएको सेजले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
विद्युतको सहज उपलव्धता र निर्यातमैत्री कुटनीतिक सम्बन्ध जरुरी
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले उद्योग विस्तार, उत्पादन विविधीकरण, निर्यात वृद्धि तथा रोजगारी सिर्जनाका लागि औद्योगिकरण अपरिहार्य रहेको बताउँदै अझै कतिपय विषयमा सुधारको खाँचो रहेको बताउनुभयो ।
लगानीमैत्री वातावरण बनाउने, उद्योगहरुलाई प्रोत्साहन गर्ने नीति बनाउनु स्वागतयोग्य रहेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले कतिपय झण्झटिला कानूनको संशोधन गर्नु, कर छुट तथा भाडादरमा सहज बनाउने नीति जरुरी रहेको बताउनुभयो । अब उद्योगीहरुलाई टिकाउने, उत्पादन बढाउने, कच्चा पदार्थको आयातमा सहजीकरण गर्ने, श्रमिकको उपलब्धता सहज बनाउने र विद्युतको उपलब्ध प्रयाप्त बनाउनेतर्फ राज्यले ध्यान दिनुपर्ने अध्यक्ष पराजुलीको भनाइ छ । सेजलाई नै लक्षित गरेर सब–स्टेशन बनाउने र कच्चापदार्थ आयातदेखि उत्पादित सामानको निर्यातका लागि छिमेकी मुलुकहरुसँगको सम्बन्ध सुमधुर हुनुपर्नेमा अध्यक्ष पराजुलीको जोड छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij