मंगलवार , आषाढ २३, २०८३
आधुनिक विज्ञान र प्रविधिको विकास सँगै जनजीवन सहज र सुबिधायुक्त त बनेको छ । तर दिन प्रतिदिन मानिसहरुमा मानसिक तथा शारिरिक अस्वस्थता तिब्र रुपमा बढनुको साथै सामाजिक रुपमा मानविय समबेदना समेत हराउदै गईरहेको छ । अव्यवस्थित जीवनशैली र अस्वस्थकर आहारका कारण विभिन्न नसर्ने रोगहरूको प्रकोपले मानिसहरु आक्रान्त छन् । बदलिँदो जीवनशैलीले आजको समाज प्रविधिमैत्री र सुविधा सम्पन्न हुँदै गएपनि गुणात्मक रुपमा अशान्त बन्दै गईरहेको छ। यस परिस्थितिमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आध्यात्मिक रुपमा उच्च चेतनायुक्त सन्तुलन कायम राख्न 'योग शिक्षा' आजको समाजमा एक अपरिहार्य आवश्यकता बनेको छ।
संस्कृत भाषाको ‘युज’ धातुबाट बनेको योग शब्दको अर्थ जोडिनु वा एकाकार हुनु हो। योगले शरिरलाइ स्वास्थ्य सङ्ग,मन लाई चेतना सङ्ग, कर्मलाइ सात्विक व्यवहार सङ्ग, आत्मालाइ परमात्मा सङ्ग जोडनुको साथै व्यक्तिलाइ परिवार सङ्ग, परिवारलाइ देश अनि विश्व परिवेश सङ्ग जोडन अभिप्रेरित गर्दछ । शारीरिक आरोग्यताका लागि आसन, प्राणायाम (श्वासप्रश्वासको नियन्त्रण) र ध्यान (एकाग्रता) को माध्यमबाट शरीर, मन र आत्मा लाई सन्तुलनमा राखी आत्मसाक्षात्कार गर्ने विधिलाई नै योग भनिन्छ । तर, आम समाजमा योगलाई केवल केही शारीरिक कसरतका रूपमा मात्र बुझ्ने भ्रम अझै कायम छ । वास्तवमा योग जीवन जिउने एउटा वैज्ञानिक कला हो । वैज्ञानिक तथ्यलाइ मुर्त रुप दिन पतन्जली योगशुत्रको अष्ठाङ्ग योग अन्तरगत यम, नियम, आसन,प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधीको माध्यमले मानिसलाई अनुशासित, संयमित र सचेत बनाउँनुको साथै मोक्ष (परम शान्ति) को मार्गमा उन्मुख गराउन अभिप्रेरित गर्नु अपरिहार्य छ ।
उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, मुटु सम्बन्धी रोग,श्वा सप्रश्वास सम्बन्धी रोग, मानसिक विक्षिप्तिपन, मेरुदण्ड दुख्ने, थाइराइड जस्ता दिर्घ रोगहरुको मुख्य जड नै खराब जीवनशैली र मानसिक तनाव नै हो । नियमित योग अभ्यासले शरीरमा रक्तसञ्चारलाई सन्तुलित बनाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने , विभिन्न अन्तश्रावी ग्रन्थिहरूबाट हुने हर्मोनको स्रावलाई नियमित गर्ने, मानसिक तनावलाइ सन्तुलनमा राख्ने, त्रिदोष र त्रिगुणहरुलाइ सम अवस्थामा राख्ने तथा औषधिमा निर्भर व्यक्तिलाई प्राकृतिक रूपमा स्वस्थ राख्न मद्दत गर्दछ । शारिरिक रुपमा निस्कृयताको कारण मस्तिष्कमा कार्टिसोल नामक रसायन उत्पन्न भै मानिस तनावग्रस्त हुने गर्दछ । योगिङ जगिङ, आसन, व्यायाम एवं प्राणायामजन्य योगाभ्यासले सेराटोनिन, डोपामाइन र इन्डोरफिन्स जस्ता रसायनहरु रिलिज भयर तनाव व्यबस्थापन हुन्छ ।
सामाजिक सञ्जाल लगायतका विभिन्न डिजिटल प्लेट्फार्मको अत्यधिक लत, एक्लोपन र भविष्य प्रतिको महत्वकाङ्क्षी सोचले गर्दा विशेषगरी युवा पुस्ता मानसिक रूपमा कमजोर साथै सामाजिक मूल्य मान्यताहरुवाट पनि टाढा हुदै गइरहेका छन् । अष्टाङ्गयोग अन्तर्गत गरिने प्राणायाम र ध्यानको अभ्यासले मस्तिष्कलाई मानसिक रुपमा शान्त पार्छ .l नकारात्मक विचारहरूलाई कम गर्छ र एकाग्रतालाई बढाउँछ । मानसिक रूपमा सबल नागरिक नै समृद्ध समाजको आधारशिला भएकाले विद्यालयस्तरदेखि नै योग शिक्षा लागू गर्नुपर्ने आवाज चौतर्फी रूपमा उठ्न थालेको छ ।
विश्व स्वास्थ्य संगठन (WHO) ले पनि मानसिक र शारीरिक स्वास्थ्यका लागि योगलाई एक प्रभावकारी माध्यमका रूपमा स्वीकार गरिसकेको छ । संयुक्त राष्ट्र संघले जुन २१ लाई 'अन्तर्राष्ट्रिय योग दिवस' घोषणा गरेपछि यसको महत्व विश्वभर झनै बढेकोछ। नेपाल प्राचिन ऋषिमुनिहरूको तपोभूमि र योग र ध्यानको उद्गम स्थल भयकोले पुर्खाहरूको अमुल्य विरासत योग पद्धतिलाई आधुनिक पाठ्यक्रममा समावेश गरी नयाँ पुस्तामा पुस्तान्तरण गर्नु मुख्यतया राज्यको ठूलो दायित्व हो ।
पछिल्लो समय केही शैक्षिक संस्थाहरूले योगलाई पाठ्यक्रम वाहेक अतिरिक्त शिक्षाका रूपमा समावेश गर्न थालेका छन् भने विभिन्न सामाजिक सङ्घसंस्थाहरूले निःशुल्क योग शिविरहरू पनि सञ्चालन गरिरहेका छन् । तर, यसलाई कर्मकाण्डी तवरले केही दिनको अभियान वा दिवसमा मात्र सीमित नगरी प्रत्येक व्यक्तिको दैनिक दिनचर्याको हिस्सा बनाउनु आवश्यक छ ।
आधुनिक समाजलाई विकृति, विसंगति र रोगको प्रकोपवाट उन्मुक्ती दिलाई एक स्वस्थ, शान्त र सभ्य समाज निर्माणका लागि योग शिक्षालाई घर-घर र विद्यालय-विद्यालयमा संस्थागत गर्नुको विकल्प छैन । योग केवल निरोगी बन्ने माध्यम मात्र होइन, यो त सकारात्मक सोच र मानवीय मूल्य मान्यता सहितको जीवन जिउने मार्ग हो । त्यसैले, "स्वस्थ शरीर र शान्त मन" का लागि योगलाई हरेक नागरिकको जीवन पद्धति बनाउन तीनवटै तहका सरकार, योग सम्बन्धी जनचेतना फैलाउदै आयका सामाजिक सङ्घ संस्थाहरु र नागरिक समाजको सङ्युक्त पहल कदमी हुनसके "समृद्द नेपाल, शुखी नेपाली" भन्ने आदर्श वाक्यले न्याय पाउनेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij