मंगलवार , आषाढ २३, २०८३
कहिलेकाहीं म आफैलाई एउटा साधारण प्रश्न सोध्छु–दिनभरी कसैलाई झुट नबोली, कसैलाई धोका नदिइ र आफ्नै विवेकसँग कुनै सम्झौता नगरी बिताएको दिन अन्तिम पटक कहिले थियो ? यो प्रश्न सुन्दा सामान्य लाग्न सक्छ, तर यसको उत्तर खोज्ने प्रयासले मानिसलाई आफ्नै अन्तरमनको ऐनाअगाडि उभ्याइदिन्छ ।
जीवनको यात्रामा हामी अरूलाई धेरै कुरा प्रमाणित गर्न खोज्छौं–आफ्नो सफलता, क्षमता, प्रतिष्ठा र उपलब्धी । तर, एउटा यस्तो क्षण पनि आउँछ, जहाँ कुनै तालीको आवाज हुँदैन, कुनै दर्शक हुँदैन, कुनै प्रशंसा वा आलोचना हुँदैन । त्यहाँ केवल हामी हुन्छौं र हाम्रो अन्तरात्मा । संसारलाई बहाना सुनाउन सकिन्छ, गल्तीलाई तर्कले सही देखाउन सकिन्छ, परिस्थितिलाई दोष दिएर आफूलाई निर्दोष ठहर्याउन पनि सकिन्छ । तर, आफ्नै अन्तरमनको अगाडि कुनै अभिनय टिक्दैन । त्यहाँ शब्दभन्दा मौनताले धेरै बोलिरहेको हुन्छ र मानिसले आफूबाट लुकाउन खोजेको प्रत्येक सत्य अन्ततः आफ्नै चेतनाले उसैलाई देखाइदिन्छ । सायद यही कारणले मानिसलाई सबैभन्दा गहिरो थकान शारीरिक परिश्रमले होइन, आफ्नै विवेकसँगको असहमतिले दिन्छ ।
दिनभरी मुस्कुराएको अनुहार पनि रातको एकान्तमा किन बेचैन हुन्छ ? सबै सुविधा, पद र प्रतिष्ठा हुँदाहुँदै पनि किन कतिपय मानिसहरू निश्चिन्त निदाउन सक्दैनन्न् ? किनभने मानसिक अशान्तिको स्रोत प्रायः बाहिरी अभाव होइन, भित्री द्वन्द्व हो । जब मानिसले क्षणिक लाभका लागि सत्यसँग सम्झौता गर्छ, विश्वास तोड्छ वा आफ्नो नैतिक मूल्यभन्दा स्वार्थलाई ठूलो बनाउँछ, त्यसको सजाय उसलाई कसैले दिँदैन–उसको आफ्नै मनले दिन थाल्छ । यही सजाय सबैभन्दा मौन हुन्छ, तर सबैभन्दा गहिरो पनि।
बाहिरबाट सफल देखिनु र भित्रबाट शान्त हुनु एउटै कुरा होइन । सफलता अरूको आँखाले देख्छ, तर शान्ति आफ्नै अन्तरमनले महसुस गर्छ । त्यसैले धेरै मानिसहरू उपलब्धीको शिखरमा पुगेका देखिए पनि निद्राहीन रात बिताइरहेका हुन्छन्, जबकी केही मानिसहरू सामान्य जीवन बाँचेर पनि सन्तुष्ट र उज्यालो मुस्कानका साथ हरेक बिहानलाई स्वागत गरिरहेका हुन्छन् । उनीहरूको खुसीको आधार सम्पत्ति, शक्ति वा प्रदर्शन होइन; इमान्दारिता, सरलता र स्वच्छ अन्तःकरण हो । अन्ततः मानिसले संसारलाई जितेर होइन, आफ्नै अन्तरमनसँग हार्न नपरेर वास्तविक सफलता प्राप्त गर्छ ।
जहाँ इमान्दारिता हुन्छ, त्यहाँ डर कम हुन्छ; जहाँ सरलता हुन्छ, त्यहाँ अनावश्यक बोझ कम हुन्छ; र जहाँ यी दुवै गुण सँगै हुन्छन्, त्यहीँ मानसिक शान्तिले स्थायी बास पाउँछ । यहीँबाट एउटा गम्भीर प्रश्न उठ्छ–यदि इमान्दारिता र सरलताले मानिसलाई यति धेरै मानसिक शान्ति दिन्छ भने आज यी गुणहरू किन दुर्लभ हुँदै गइरहेका छन् ? सायद यसको उत्तर हामी बाँचिरहेको समयमै लुकेको छ । आज मानिसहरू आफ्नो वास्तविक जीवनभन्दा अरूले देख्ने जीवन निर्माण गर्न बढी व्यस्त छन् । आफूभित्र के छ भन्नेभन्दा अरूले आफूलाई कसरी हेर्छन् भन्ने चिन्ताले धेरैलाई घेरिरहेको छ । फलस्वरूप, हामी आफ्नो वास्तविकता स्वीकार्नुभन्दा अरूको सम्पन्नता, सफलता, सौन्दर्य र जीवनशैलीसँग आफ्नै जीवनको तुलना गर्न थालेका छौं । तुलना बढ्दै जाँदा सन्तुष्टि घट्छ, सन्तुष्टि घट्दै जाँदा सरलता हराउँछ, र सरलता हराएपछि मानसिक शान्ति पनि बिस्तारै टाढिँदै जान्छ । इमान्दारिता केवल अरूसँग सत्य बोल्ने गुण होइन; यो सबैभन्दा पहिले आफ्नै वास्तविकतालाई स्वीकार गर्ने साहस हो । आफू कहाँ छु, मसँग के छ, के छैन, मबाट कहाँ गल्ती भयो र अब कुन दिशामा अघि बढ्नुपर्छ भन्ने कुरा नलुकाई स्वीकार गर्न सक्नु नै वास्तविक इमान्दारिता हो। आफ्नो वास्तविकतालाई स्वीकार गर्न सक्ने मानिसलाई कृत्रिम जीवन बाँच्नुपर्दैन। उसले अरूलाई प्रभावित पार्न मुखौटा लगाउनुपर्दैन, न त आफ्नो हैसियतभन्दा ठूलो देखिने अनावश्यक प्रयास नै गर्नुपर्छ । यही स्वीकारोक्तिबाट सरलता जन्मिन्छ । सरलता अभावमा बाँच्नु होइन; आवश्यकताभन्दा बढी देखावटीपनको दास नबन्नु हो ।
आजको समाजमा धेरै मानिसहरू आफ्नो खुसीभन्दा अरूको नजरमा सफल देखिन बढी संघर्ष गरिरहेका छन् । सामाजिक सञ्जालका आकर्षक तस्बिर, महँगा वस्तु, विलासी जीवनशैली र निरन्तरको तुलना गर्ने प्रवृत्तिले मानिसलाई आफूले पाएकोभन्दा नपाएको कुरातर्फ बढी केन्द्रित बनाइदिएको छ । परिणामस्वरूप, बाहिरी रूपमा सबै कुरा ठीक देखिए पनि भित्र असन्तोष, चिन्ता र बेचैनी बढिरहेको छ। वास्तविक समस्या सम्पत्तिको कमी होइन; आफूलाई स्वीकार गर्न नसक्नु र अरूको जीवनसँग आफ्नै जीवनको निरन्तर तुलना गर्नु हो । तर, बिडम्बना के छ भने आजको समाजमा इमान्दारिता र सरलतालाई सधैँ सम्मानको दृष्टिले हेरिँदैन । धेरै पटक मानिसहरू इमान्दार व्यक्तिलाई अव्यवहारिक, सोझो वा अवसर चिन्न नसक्ने व्यक्तिका रूपमा चित्रण गर्छन् ।
सरल जीवन बाँच्नेलाई महत्वाकांक्षाबिहीन ठानिन्छ, जबकि देखावटी सफलतालाई उपलब्धिको प्रतीक मानिन्छ । यही सोचले गर्दा धेरै मानिसहरू आफ्नो वास्तविक पहिचानभन्दा फरक जीवन प्रदर्शन गर्न बाध्य भएका छन् । उनीहरू आफू जे छन्, त्यो भएर होइन; अरूले आफूलाई कस्तो देखून् भन्ने चिन्तामा बाँचिरहेका छन् । जब समाजले चरित्रभन्दा प्रदर्शनलाई र सत्यभन्दा चमकलाई बढी महत्व दिन थाल्छ, तब मानिसहरू भित्रभित्रै विभाजित हुन थाल्छन् । बाहिर एउटा अनुहार हुन्छ, भित्र अर्को वास्तविकता । यही दूरी बढ्दै जाँदा मानसिक तनाव, असन्तोष र एक्लोपन पनि बढ्न थाल्छ । त्यसैले समस्या केवल आर्थिक, सामाजिक वा व्यक्तिगत मात्र होइन; समस्या मूल्य र प्राथमिकताको पनि हो । सायद त्यसैले आज हामीले सबैभन्दा बढी पुनःस्थापित गर्नुपर्ने कुरा प्रविधि, सम्पत्ति वा अवसर होइन, इमान्दारिता र सरलता नै हुन् । कुनै पनि समाजको वास्तविक उन्नति केवल अग्ला भवन, फराकिला सडक वा बढ्दो अर्थतन्त्रले मापन हुँदैन; त्यहाँ बाँचिरहेका मानिसहरूको चरित्रले पनि मापन हुन्छ । जब इमान्दार मानिसलाई मूर्ख र छलकपट गर्नेलाई चतुर मान्न थालिन्छ, त्यहीँबाट समाजको नैतिक पतन सुरु हुन्छ । जब सरल जीवनलाई कमजोरी र कृत्रिम प्रदर्शनलाई सफलताको परिचय ठान्न थालिन्छ, त्यहीँबाट मानिस आफ्नै जीवनबाट टाढिन थाल्छ । व्यवहारिक जीवनमा इमान्दारिता कुनै आदर्शवादी कल्पना होइन हरेक दिन गरिने साना निर्णयहरूको आधार हो।
कसैको विश्वास नतोड्नु, आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नु, गल्ती हुँदा स्वीकार गर्ने साहस राख्नु र कसैको अधिकारमाथि आफ्नो स्वार्थ नथोपर्नु–यिनै सामान्य देखिने व्यवहारहरूले असाधारण चरित्र निर्माण गर्छन्। त्यस्तै, सरलता ठूलो भाषणमा होइन, दैनिक जीवनका साना बानीमा देखिन्छ । आफूलाई जति छ त्यति स्वीकार गर्न सक्नु, अनावश्यक देखावटीपनबाट टाढा रहनु र अरूको जीवनसँग आफ्नो जीवनको निरन्तर तुलना नगर्नु नै सरलताको वास्तविक अभ्यास हो । यिनै अभ्यासहरूले मानिसलाई बाहिरी रूपमा मात्र होइन, भित्री रूपमा पनि हलुका बनाउँछन् । र जब मन हलुका हुन्छ, मानसिक शान्तिले त्यहीँबाट आफ्नो यात्रा सुरु गर्छ । यही कारणले इमान्दारिता र सरलता व्यक्तिगत गुणमा मात्र सीमित रहँदैनन्; यिनले परिवार, समाज र राष्ट्रको चरित्रसमेत निर्माण गर्छन् ।
विश्वासको जग इमान्दारितामै अडिएको हुन्छ । जहाँ विश्वास हुन्छ, त्यहाँ सम्बन्धहरू बलियो हुन्छन्; सहकार्य सहज हुन्छ; र सामाजिक जीवनमा स्थायीत्व आउँछ । त्यसै गरी, सरलताले मानिसलाई उपभोगको अन्धो दौडबाट बचाएर जिम्मेवार र सन्तुलित जीवनतर्फ उन्मुख गराउँछ । आज संसारले भौतिक रूपमा अभूतपूर्व प्रगति गरेको छ, तर मानसिक तनाव, असन्तुष्टि र सम्बन्धमा आएको दूरीले एउटा गम्भीर प्रश्न उठाएको छ–के हामीले जीवनलाई सहज बनाउने क्रममा जीवनको सार नै गुमाइरहेका त छैनौँ ?
यही प्रश्नको उत्तर खोज्दा फेरि इमान्दारिता र सरलतामै फर्किनुपर्ने आवश्यकता महसुस हुन्छ । किनकि यी गुणहरूले मानिसलाई केवल असल नागरिक मात्र बनाउँदैनन्, आफूभित्र सन्तुष्ट र मानसिक रूपमा सन्तुलित व्यक्ति बन्न पनि प्रेरित गर्छन् । अन्ततः मानसिक शान्ति कुनै बाहिरी उपलब्धिको पुरस्कार होइन; त्यो जीवन जिउने तरिकाको परिणाम हो । इमान्दारिताले मानिसलाई आत्मविश्वास र स्वच्छ अन्तःकरण दिन्छ, सरलताले अनावश्यक बोझबाट मुक्त गराउँछ । आजको तीव्र प्रतिष्पर्धा र देखावटीपनले भरिएको समाजमा यी दुई गुण केवल नैतिक आदर्श होइनन्, सन्तुलित, सम्मानित र अर्थपूर्ण जीवनका अपरिहार्य आधार हुन् । त्यसैले व्यवहारिक जीवनमा इमान्दारिता र सरलतालाई अपनाउनु केवल व्यक्तिगत रोजाइ होइन, स्वस्थ समाज निर्माण गर्ने साझा जिम्मेवारी पनि हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij