२०८३, आषाढ २३ गते

Jul 07 2026 | २०८३, आषाढ २३ गते

सडक पूर्वाधारमा फड्को मार्दै सिद्धार्थनगर

मंगलवार , आषाढ २३, २०८३

  • 316
    Shares
  • 316
    Shares
  • भैरहवा, २३ असार । नेपाल–भारत सीमा नाकासँग जोडिएको सिद्धार्थनगर नगरपालिकाले पछिल्ला केही वर्षयता सडक पूर्वाधारमा फड्को मारेको छ । प्रमुख सीमावर्ती व्यापारिक शहरको रुपमा चिनिएको सिद्धार्थनगर नगरपालिका पछिल्ला केही वर्षयता पूर्वाधार विकासको गतिले नयाँ परिचय बनाउँदै गएको छ । कुनै समय धुलाम्मे सडक, अव्यवस्थित नाली, ट्राफिक जाम र अस्तव्यस्त सहरीकरणका कारण नागरिकको आचोचनाको सिकार बनेको सिद्धार्थनगर अहिले व्यवस्थित शहरको रुपमा अगाडि बढेको छ । 

    सिद्धार्थनगरभित्रका शहरदेखि सडक सञ्जालले अहिले चिटिक्क परेका छन् । व्यवस्थित सडक, आकर्षक सार्वजनिक स्थल, आधुनिक सडक बत्तीले सिद्धार्थनगरलाई साँच्चिकै सुन्दर बनाएको छ । 

    नगरपालिकाले सडक निर्माणलाई विकासको दीर्घकालीन सहरी पूर्वाधारको रुपमा अगाडि बढाएको जनाएको छ । नगरपालिकाले नगरभित्रका मुख्य सडकको स्तरोन्नति, भित्री सडक कालोपत्रे, ढल तथा नाली निर्माण, फुटपाथ विस्तार, सडक बत्ती जडान, सार्वजनिक पार्क निर्माण, खुला व्यायामस्थल, हरियाली प्रवद्र्धन तथा सौन्दर्यीकरणमा जोड दिइएको जनाएको छ । 

    नगरप्रमुख इश्तियाक अहमद खाँले नगरभित्रका सडकलाई स्तरोन्नति गर्ने काममा पालिका लागि परेको बताउनुभयो । उहाँले सडक पूर्वाधारमा विशेष जोड दिइएको बताउँदै नगरभित्रका कच्ची तथा ग्राभेल सडकलाई विस्तारै पीच गर्दै लैजाने उल्लेख गर्नुभयो ।  

    पुरानो शहरदेखि आधुनिक शहरतर्फ

    एक दशकअघिसम्म सिद्धार्थनगरको पहिचान धुलो, हिलो र अव्यवस्थित सडकसँग जोडिएको थियो । वर्षायाममा हिंड्नै कठिन हुने सडक, ढल निकासको समस्या, सडक बत्तीको अभाव र बढ्दो सवारी चापले नागरिकलाई दैनिक सास्ती दिन्थ्यो । तर, पछिल्ला वर्षहरूमा नगरपालिकाले योजनाबद्ध रूपमा सडक विस्तार, कालोपत्रे, नाली निर्माण तथा सार्वजनिक पूर्वाधारमा लगानी बढाएपछि क्रमशः सुधार हुँदै गएको स्थानीयको अनुभव छ ।

    स्थानीय श्रीमाया थनेतका अनुसार नगरपालिकाले पछिल्ला वर्षहरुमा सडक पूर्वाधारमा विशेष जोड दिएको छ । नगरलाई व्यवस्थित बनाउनका लागि सडक पूर्वाधारका क्षेत्रमा पालिकाले गरेको लगानी सराहनीय रहेको उहाँको बुझाइ छ । स्थानीय व्यवसायीहरूका अनुसार सडक सुधार भएपछि बजार क्षेत्रमा ग्राहकको आवागमन वृद्धि हुनुका साथै यातायात व्यवस्थापनमा पनि सकारात्मक परिवर्तन देखिन थालेको छ ।

    एसियाली विकास बैंक, नेपाल सरकार र सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा सञ्चालित युआरएलआईपी प्रोजेक्ट अन्तर्गत नगरपालिका र निर्माण व्यवसायीबीच सम्झौता भइ कार्य सञ्चालनमा रहेको पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन महाशाखा प्रमुख ई. साकार श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा १८ करोड रुपैयाँ सडक पूर्वाधारमा लगानी गरेको छ भने एसियाली विकास बैंकको १ अर्ब १८ करोड लगानीमा सडक पूर्वाधारको काम अगाडि बढाएको उहाँको भनाइ छ । 

    ई. श्रेष्ठका अनुसार उक्त प्रोजेक्ट अनुसार २३ दशमलव ६२ किलोमिटर सडक निर्माण हुने, सडकमा सडक बत्तीको समेत काम हुने भएको छ । नगरपालिका भित्रको ८५ किलोमिटर कच्ची सडकमध्ये ६५ किलोमिटर अझै पीच गर्न बाँकी रहेको ई. श्रेष्ठको भनाइ छ । सडक निर्माण भएको स्थानमा व्यवस्थित नाली पनि निर्माण गरिएको उहाँको भनाइ छ । नगरपालिकाले आवश्यकताका आधारमा व्यवस्थित दुईलेन र एकलेन सडक निर्माण गरिरहेको तथा अन्य पूर्वाधार निर्माणका कामलाई पनि व्यवस्थित गरिएको जनाएको छ । 

    सिद्धार्थनगरको विकासलाई थप महत्वपूर्ण बनाउने अर्को आधारको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लिइएको छ । विमानस्थल सञ्चालनमा आएपछि देश–विदेशबाट आउने पर्यटक तथा व्यवसायीका लागि सिद्धार्थनगर पहिलो गन्तव्य बन्ने भएकाले नगरको भौतिक पूर्वाधार व्यवस्थित हुनुपर्ने आवश्यकता अझै बढेको छ । नगरका जानकारहरुका अनुसार नगरलाई व्यवस्थित र सुन्दर बनाउने विषयमा कुनै कसर बाँकी राख्न नहुने वरिष्ठ पत्रकार माधव ढुंगाना बताउनुहुन्छ । उहाँले भविष्यलाई ध्यानमा राख्दै नगरपालिकाले विमानस्थलसँग जोडिने सडक, सार्वजनिक स्थान, हरियाली, सडकबत्ती तथा सौन्दर्यीकरणका योजनालाई प्राथमिकता दिँदै जानुपर्ने बताउनुभयो । 

    निर्माणभन्दा ठूलो चुनौती निर्माणको गुणस्तर कायम राख्नु र समयमै मर्मतसम्भार गर्नु हो, उहाँले भन्नुभयो–‘विकास योजनामा पारदर्शीता, गुणस्तर परीक्षण र नागरिकको निगरानीलाई सँगसँगै अघि बढाउन सके मात्रै पूर्वाधारले दीर्घकालीन प्रतिफल दिन्छ ।’ 

    १३ वटा वडा रहेको सिद्धार्थनगरभित्र ६५ किलोमिटर बढी कच्ची सडक रहेको छ । ६५ किलोमिटरमध्ये वडा नम्बर १, ८, ९, १० र ११ मा बढी रहेको नगरपालिकाको भनाइ छ । सबै वडामा विकासको गतिले छुनुपर्ने स्थानीयको जोड छ । 

    यही गतिमा गुणस्तरीय विकास, पारदर्शी योजना कार्यान्वयन र दीर्घकालीन सहरी व्यवस्थापनलाई निरन्तरता दिन सकियो भने सिद्धार्थनगर लुम्बिनी प्रदेशमा मात्र नभइ देशकै व्यवस्थित र आधुनिक सीमावर्ती शहरका रूपमा स्थापित हुन सक्ने आधार बलियो बन्दै गएको जानकारहरु बताउँछन् । 

    नगरपालिकाले पूर्वाधारलाई मात्र प्राथमिकता नदिइ सार्वजनिक स्थलहरूको सौन्दर्यीकरण, पार्क निर्माण, खुला व्यायामस्थल, फुटपाथ, हरियाली प्रवद्र्धन र सरसफाईलाई समेत विकासको अभिन्न अंगका रूपमा अघि बढाएको छ । यसले नगरको सौन्दर्य मात्रै बढाएको छैन, स्थानीयलाई स्वस्थ र व्यवस्थित सार्वजनिक वातावरण पनि उपलब्ध गराएको छ ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सिद्धार्थनगरलाई समृद्ध नगरको रुपमा विकास गर्दै जाने बताउनुभयो । उहाँले अबको चरणमा पनि सडक पूर्वाधार, विकास निर्माणदेखि सुशासनका क्षेत्रमा पनि उल्लेखनीय रुपमा काम गर्ने बताउनुभयो । ‘सहज रुपमा सेवा पाउनु नागरिकको पहिलो शर्त ठानेर काम गरिरहेका छौं, ’उहाँले भन्नुभयो–‘विकास निर्माणसँगै सुशासनमा पनि काम गरिरहेको छ ।’