२०८३, आषाढ २२ गते

Jul 06 2026 | २०८३, आषाढ २२ गते

लेखक साहनीका तीन पुस्तकको संगौलाद्वारा विमोचन

सोमवार , आषाढ २२, २०८३

  • 235
    Shares
  • 235
    Shares
  • बुटवल, २२ असार । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आइतबार बुटवलमा विमोचन गरिएको छ । वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले साहनीका कथा सग्रह ‘मुलतबी’ निबन्ध संग्र्रह ‘अध्ययन, अनुभव र अनुभूति’ तथा उपन्यास ‘रूपान्तरण’ को संयुक्त रूपमा विमोचन गर्नुभएको हो । 

    पाठक मञ्च बुटवलद्वारा आयोजित विमोचन कार्यक्रममा बोल्दै लेखक संग्रौलाले साहित्य समाजलाई चेतना, विचार र परिवर्तनको दिशामा अग्रसर गराउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो । प्रगतिशील साहित्यले समाजमा सचेत नागरिक उत्पादन गर्न योगदान पुर्याउने भएकाले यसको भूमिका अझ महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
    उहाँले वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै कम्युनिष्ट पार्टीहरू धार्मिक संस्था जस्ता देखिन थालेको उल्लेख गर्नुभयो । सिमान्तकृत समुदाय र सुकुम्बासी बस्तीमाथि डोजर चल्दा समेत कम्युनिष्ट पार्टीहरू मौन बस्नु विडम्बनापूर्ण भएको उल्लेख गर्दै लेखक संग्रौलाले सामाजिक न्याय, समानता र जनपक्षीय मुद्दामा राजनीतिक दलहरू थप जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।

    लेखक दिल साहनीले तीनवटै पुस्तकमा आफूले देखेका, भोगेका र अनुभूत गरेका यथार्थ घटनालाई समेट्ने प्रयास गरेको बताउनुभयो । नेपालदेखि भारतको आसाम हुँदै बर्मासम्मका सामाजिक परिवेश, संघर्ष, मानवीय सम्बन्ध तथा जीवनका विविध आयामलाई साहित्यिक शैलीमा प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा लेखक रामचन्द्र श्रेष्ठ, सुमिना, लक्ष्मी सुनार, यज्ञ प्रसाद न्यौपाने तथा रुद्र ज्ञवालीले विमोचित कृतिमाथि टिप्पणी गर्नुभएको थियो ।  साहनीका सिर्जनाले समाजका यथार्थ पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको उहाँहरुको धारणा रहेको थियो । समकालीन नेपाली साहित्यमा यस्ता कृतिले महत्वपूर्ण योगदान पुर्याउने उनीहरुले विश्वास व्यक्त गरेका छन् । चोटिलो ले मार्फत स्थापित साहनीका यी तीन कृतिहरुहरुको विशेषता भने फरकफरक रहेको छ । 

    अध्येता तथा लेखक शंकर भण्डारीको सञ्चालन, साहित्यकार सरिता श्रीसको स्वागत तथा अधिवक्ता ज्ञानु केसीको धन्यवाद ज्ञापनमा कार्यक्रम भएको थियो ।  विमोचन कार्यक्रममा लुम्बिनी इन्टिग्रेटेड एकेडेमी र ज्ञानपुञ्ज बोर्डिङ स्कूलले सहकार्य गरेका थिए । 

    कार्यक्रममा साहित्यकार, लेखक, पाठक तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो । पाठक मञ्च बुटवलले स्वतन्त्र रुपमा पठक संस्कृथिको विकासका लागि साहित्यिक गतिविधि गर्ने गरेको मञ्चका सदस्य माधव गौतमले जानकारी दिनुभयो ।