सोमवार , आषाढ २२, २०८३
भैरहवा, २२ असार । इनरह्वील क्लब अफ लुम्बिनीको १० औं पद हस्तान्तरण समारोह शनिबार रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ । डिष्ट्रिक ३५० का चेयरमेन डा. सृष्टि प्रजापतिको प्रमुख आतिथ्यता, पीडीसी आशा श्रेष्ठ, डिष्ट्रिक सेक्रेटरी मञ्जु श्रेष्ठ तथा क्लबका स्पोन्सर इनर ह्वील क्लब अफ बुटवलकी सरस्वती श्रेष्ठ विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, इनरह्वीलका विभिन्न क्लबका पदाधिकारी, पूर्वअध्यक्ष, बोर्ड सदस्य तथा अन्य व्यक्तित्वहरूको उपस्थिति थियो ।
समारोहमा वर्ष २०२५/२०२६ की निवर्तमान अध्यक्ष नारायणी नेपाललाई उहाँको कार्यकालमा कुशल नेतृत्व, समर्पण, लगनशीलता तथा उच्च प्रतिबद्धताका साथ क्लबलाई सफलतापूर्वक नेतृत्व प्रदान गर्नुभएको भन्दै आभार तथा सम्मान व्यक्त गरिएको थियो । अध्यक्ष नेपालको नेतृत्वमा क्लबले वर्षभरी २२ वटा सामाजिक तथा सेवामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गरिएको थियो । ती कार्यक्रमहरूमा लैंगिक हिंसाविरुद्ध जनचेतना, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, निःशुल्क स्वास्थ्य शिविर, वृक्षारोपण, हेल्पिङ ह्याण्ड अभियान, फेलोसिप कार्यक्रम तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इनर ्ह्वील गतिविधिहरू उल्लेखनीय रहेका कार्यक्रममा जनाइएको थियो ।
त्यस अवसरमा निवर्तमान अध्यक्ष नारायणी नेपालले आफ्नो कार्यकालभरी क्लबका गतिविधिहरू सफल बनाउन सहयोग पुर्याउने पदाधिकारी, सदस्य, सल्लाहकार तथा सहयोगी व्यक्तित्वहरूलाई सम्मानसमेत गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन वर्ष २०२५/२०२६ की सचिव कमला भट्टराई तथा वर्ष २०२६/२०२७ की सचिव अर्चना मल्लले संयुक्त रूपमा गर्नुभएको थियो । कार्यक्रमको संयोजन वर्ष २०२५/२०२६ की आई.एस.ओ. अर्चना मल्ल तथा धन्यवाद ज्ञापन उपाध्क्ष विनिता नेपालले गर्नुभएको थियो ।
शुभकामना मन्तव्यका क्रममा रुपन्देहीका ६ वटा इनरह्वील क्लबको प्रतिनिधित्व गर्दै इनरह्वील क्लब अफ बुटवलकी निवर्तमान अध्यक्ष बुलबुल श्रेष्ठ तथा इनरह्वील क्लब अफ लुम्बिनीकी पूर्वअध्यक्ष सीता भट्टराईले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रमुख अतिथि डा. सृष्टी प्रजापतिले इनरह्वील क्लबहरूलेआगामी दिनमा महिला तथा बालबालिकाको सशक्तिकरण, स्वास्थ्य तथा सरसफाई र वातावरण संरक्षणका क्षेत्रमा विशेष प्राथमिकताका साथ कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
यसै अवसरमा वर्ष २०२६/२०२७ का लागि अध्यक्ष पदको जिम्मेवारी ग्रहण गर्नुभएकी कोपिला मरासिनीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । उहाँको ऊर्जाशील, सक्षम तथा दूरदर्शी नेतृत्वमा इनरह्वील क्लब अफ लुम्बिनीले सामाजिक सेवाका क्षेत्रमा अझ प्रभावकारी र उल्लेखनीय कार्य गर्दै नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij