२०८३, आषाढ २१ गते

Jul 05 2026 | २०८३, आषाढ २१ गते

पश्चिम नेपाल बस प्रा.लि.द्वारा चालकका परिवारलाई १५ लाख प्रदान

आइतवार , आषाढ २१, २०८३

  • 349
    Shares
  • 349
    Shares
  • बुटवल, २१ असार । छिमेकीको घरको छतबाट खसेर ज्यान गुमाएका चालक भद्रसिंह गुरुङ्गको परिवारलाई पश्चिम नेपाल बस प्रा.लि.ले १५ लाख राहत रकम प्रदान गरेको छ । एक कार्यक्रमकाबीच प्रा.लि.ले चितवनको ईच्छाकामना–३ स्थायी घर भइ बुटवल–३ गोलपार्क बस्ने स्वर्गीय गुरुङ्गको परिवारलाई बीमावापत प्राप्त सो रकमको चेक हस्तान्तरण गरेको हो । 

    गुरुङ्गको गत मंसिर ६ गते राती करिब ९ः३० बजेको समयमा घरको छतबाट खसेर गम्भिर घाइते भइ उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा निधन भएको थियो । पश्चिम नेपाल यातायात सहकारीमा आबद्ध गुरुङ्ग लामो समयदेखि बस व्यवसायी तथा स्वरोजगार चालकका रुपमा काम गर्दै आउनुभएको थियो ।

    पश्चिम नेपाल बस प्रा.लि.का अध्यक्ष दधिराम खरेलले स्व.गुरुङ्गकी धर्मपत्नी तुलसादेवी खाम्चा गुरुङ्गलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण गर्दै अध्यक्ष खरेलले प्रा.लि.ले आफ्ना सदस्य व्यवसायी, चालक र सह-चालकको परिवार समेतको हकहितलाई संरक्षण गर्ने प्रयास गरेको बताउनुभयो ।

    प्रत्येक व्यवसायी, चालक, सह–चालकको दुर्घटनामा परी निधन भएका संस्थाले १५ लाखदेखि २२ लाखसम्म राहत रकम प्रदान गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष खरेलले संस्थासँगको सानो सहकार्यले दुःखको घडीमा परिवारलाई ठुलो राहत मिलेको बताउनुभयो। 

    सो अवसरमा प्रा.लि.का संचालकहरु, यातायात सहकारीका उपाध्यक्ष जीवन बन्जाडे, सचिव जितेन्द्र खत्री, कोषाध्यक्ष नारायण भण्डारी लगायतले पश्चिम नेपाल बस प्रा.लि. र पश्चिम नेपाल यातायात सहकारीमा आबद्ध सदस्यहरुको हितमा विभिन्न राहतका कार्यक्रमहरु संचालन गरिएको जानकारी गराउनुभयो ।

    यसअघि चारजनाले सो राहत रकम प्राप्त गरिसकेको प्रा.लि.ले जनाएको छ । प्रा.लि.का संचालक एवं यातायात सहकारीका सचिव जितेन्द्र खत्रीका अनुसार सिद्धार्थनगर-३ बस्ने जानकीदेवी पाण्डे शर्मा, बुटवल–११ बस्ने सन्तोष वि.क, प्रतापपुर-९ नवलपरासीका जगदिश प्रसाद चौधरी, तानसेन-१० निवासी कोपिल रानाले सो राहत रकम प्राप्त गरिसक्नुभएको छ ।