२०८३, आषाढ २१ गते

Jul 05 2026 | २०८३, आषाढ २१ गते

विश्वकपको अन्तिम १६ मा इजिप्टको ऐतिहासिक प्रवेशसँगै देशभर खुशीयाली

आइतवार , आषाढ २१, २०८३

  • 241
    Shares
  • 241
    Shares
  • काठमाडौँ, २१ असार । इजिप्ट जारी फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) मा प्रवेश गरेको छ ।

    शुक्रवार राति भएको निकै प्रतिष्पर्धात्मक खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले ऐतिहासिक सफलता हात पारेको हो । डालसमा भएको ‘राउण्ड अफ ३२’ को खेल निर्धारित समय र अतिरिक्त समयसम्म १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

    पेनाल्टीमा अस्ट्रेलियालाई ४–२ ले स्तब्ध पार्दै इजिप्टले अघिल्लो चरणको यात्रा तय ग¥यो । खेलको पहिलो हाफमा इमाम आशुरले गोल गर्दै इजिप्टलाई शुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा मोहम्मद हानीले आत्मघाती गोल गरेपछि खेल बराबरीको स्थितिमा पुगेको थियो । टोलीको यो ऐतिहासिक जितसँगै इजिप्टभर खुशीयाली छाएको छ ।

    राजधानी कायरोको पूर्वमा अवस्थित नयाँ प्रशासनिक सहर, गिजा लगायतका विभिन्न स्थानमा रहेका फ्यान जोन र क्याफेहरूमा भेला भएका हजारौँ समर्थकहरूले झण्डा फहराउँदै र नाराबाजी गर्दै जितको उत्सव मनाएका छन्। समर्थकहरूले यस उपलब्धिलाई देशको फुटबल इतिहासकै ‘ऐतिहासिक क्षण’ को रूपमा चित्रण गरेका छन् ।

    इजिप्ट समूह ‘जी’ मा बेल्जियमपछि दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्न सफल भएको हो । यसअघि समूह चरणको खेलमा न्युजिल्याण्डलाई ३–१ ले पराजित गर्दै इजिप्टले विश्वकपको इतिहासमा आफ्नो पहिलो जित दर्ता गरेको थियो ।

    लामो फुटबल परम्परा भएपनि इजिप्टको विश्वकप इतिहास भने यसअघि सुखद् रहन सकेको थिएन । सन् १९३४, १९९० र २०१८ मा विश्वकप खेलेको इजिप्टले सन् २०२६ को यस संस्करणअघि कुनैपनि खेल जित्न सकेको थिएन । सन् १९९० मा नेदरल्याण्ड्स र आयरल्याण्डसँग बराबरी खेलेको इजिप्ट इंग्ल्याण्डसँग पराजित भएको थियो ।

    त्यस्तै, २८ वर्षको अन्तरालपछि सन् २०१८ मा विश्वकपमा फर्किए पनि उरुग्वे, रुस र साउदी अरबविरुद्धका तीनवटै खेलमा उसले हार व्यहोरेको थियो ।