२०८३, आषाढ २० गते

Jul 04 2026 | २०८३, आषाढ २० गते

असार २१ र २२ गते ‘तिलोत्तमा दलित ज्ञान उत्सव’

शनिवार , आषाढ २०, २०८३

  • 283
    Shares
  • 283
    Shares
  • भैरहवा, २० असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘तिलोत्तमा दलित ज्ञान उत्सव–२०८३’ हुने भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा असार २१ र २२ गते कुञ्जलापुर (मणिग्राम) स्थित नगरपालिकाको सभाहलमा तेस्रो दलित ज्ञान महोत्सव हुने भएको हो ।

    यो उत्सव सामाजिक न्याय, पहुँच, सहभागीताका साथै विभेदविरुद्धको सामूहिक कार्यक्रम भएको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो । ‘तिलोत्तमा नगरपालिकामा लगभग १ लाख ६० हजार जनसंख्या रहेको छ भने लगभग ५६ जाति समुदायको बसोबास रहेको छ । लगभग १० प्रतिशत जनसंख्या रहेको दलित समुदायलाई मूलधारमा ल्याउन ‘विभेदमुक्त नगर : समानतायुक्त नगर’ भन्ने नारासहित नेपालको ७५३ स्थानीय तहमध्ये आफ्नो नीति तथा कार्यक्रमा नै दलित ज्ञान उत्सवलाई प्राथमिकतामा राखी नगरपालिकाले भव्यताका साथ कार्यक्रम आयोजना हुँदैछ, ’नगरप्रमुख खाणले भन्नुभयो । यस उत्सवमार्फत नगरपालिकाले दलित समुदायको इतिहास, बौद्धिक ज्ञान, सिर्जनशीलता, संघर्षको कथा र सफलता एवं समानता र सामाजिक अन्तरघुलनको लागि सकारात्मक सन्देश प्रवाह गर्दै जातीय कुसंस्कारको अन्त्य गरी समानतामूलक समाज निर्माण गर्न चाहेको उहाँले बताउनुभयो ।

    यो उत्सवमा दलित समुदाय केन्द्रीत विषयवस्तुहरुलाई विभिन्न दृष्टिकोणबाट बहस र छलफल गरिने उहाँले बताउनुभयो । उक्त बहस र छलफललाई दस्तावेजीकरण गरी राज्यको नीति निर्माणमा सहयोगका निम्ति बौद्धिक सम्पत्तिको रुपमा दस्तावेजीकरण गरिने उहाँले जानकारी दिनुभयो ।

    ‘तिलोत्तमा दलित ज्ञान उत्सव एउटा यस्तो मञ्च हो, जसले दलित समुदायको ज्ञान, सिर्जनशीलता र सामाजिक योगदानलाई सम्मान गर्नेछ । यो उत्सवले नेपालको सामाजिक संरचनामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । हाम्रै पालामा जातीय कुसंस्कार र विभिन्न प्रकारको विभेदको अन्त्य गर्न, हामी सबैको सहभागीता र समर्थनले यो उत्सवलाई ऐतिहासिक बनाउन महत्वपूर्ण सहयोग पुग्नेछ, ’उहाँले भन्नुभयो ।

    दुईदिने उत्सवमा १३ वटा सेसनहरु रहने कार्यक्रम संयोजक तथा नगर कार्यपालिका सदस्य रवि सेन्चुरीले बताउनुभयो । जसमा साहित्यतर्फ विभेदविरुद्ध चित्रकला, कविता वाचन र गीत संगीतका साथै सारंगी र पञ्चेबाजा इतिहास समावेश गरिने उहाँले जानकारी दिनुभयो । बाँकी ८ वटा प्यानलमा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरिनेछ । त्यस्तै उद्यमशीलता, युवाका विषय, प्रशासन र समावेशीताका विषयमा केन्द्रीत रहने उहाँले बताउनुभयो ।

    तिलोत्तमा दलित ज्ञान उत्सव पूर्वमन्त्री छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम हुने र लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सनाको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम हुने नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताउनुभयो । अन्य प्यानलमा विभिन्न क्षेत्रका विज्ञसहित स्थानीय तहका जनप्रतिनिधि, साहित्यकार, चित्रकार, गायक, तिलोत्तमा नगरपालिकामा रहेका राजनीतिक दलका सभापति/अध्यक्षहरु, उद्यमी, सामाजिक अभियन्ता, नीति निर्माता र पत्रकाहरुको वक्ता र सहजकर्ताको रुपमा सहभागीता हुने उहाँले जानकारी दिनुभयो ।