२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लुम्बिनी प्रदेशमा पीसीआर शुल्क १ हजार बनाउने स्वास्थ्य मन्त्रालयको निर्णय

शुक्रवार , बैशाख ३१, २०७८

बुटवल, ३१ वैशाख । 
लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड परीक्षणका लागि गरिने पीसीआर शुल्क १ हजार बनाउने निर्णय गरेको छ । प्रदेशका सबै सरकारी अस्पताल र प्रयोगशालाबाट कोरोना बिरामीका लागि गरिने पीसीआर परीक्षण शुल्क १ हजार मात्र लिन मन्त्रालयले निर्देशन गरेको छ । 

यसअघि पीसीआर परीक्षण शुल्क सरकारीमा १ हजार र निजीमा २ हजार तोकिएको थियो । आधा शुल्क घटाउदा अस्पताल र प्रयोगशालाहरुलाई घाटा हुने भन्दै अस्पतालहरुले आनाकानी गर्दै निजी सरह २ हजार नै लिदै आएका थिए । शुल्क घटाउँदा अस्पताललाई पर्ने घाटा प्रदेश सरकारले पुर्ति गर्ने मन्त्रालयले जनाएको छ । 

यसैबीच आजदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर शुल्क १ हजार लिन थालिएको छ । संघीय सरकारको निर्णय र प्रदेश सरकारको निर्देशन बमोजिम पीसीआर शुल्क आजदेखि १ हजार मात्र लिन थालिएको अस्पतालले जनाएको छ। 

हिजो मात्र लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालको निर्देशनपछि शुल्क घटाएर १ हजार बनाइएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका नायब सुब्बा श्रीराम पाण्डेका अनुसार अस्पतालमा आजदेखि १ हजार रुपैयाँमा पीसीआर परीक्षण हुनेछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालहरु आफै विभिन्न कारण देखाउँदै शुल्क घटाएका थिएनन् । अस्पताललाई पर्न जाने घाटा प्रदेश सरकारले व्यहोर्ने नीति अवलम्बन गरेपछि पीसीआर परीक्षण शुल्क घटाउन अस्पताल प्रशासन तयार भएको लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले बताए ।