२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

आज मुस्लिम समुदायको महान चाड ‘इद उल फित्र’ मनाइँदै

शुक्रवार , बैशाख ३१, २०७८

बुटवल, ३१ वैशाख ।

मुस्लिम समुदायको महान पर्व रमजानको आज अन्तिम दिन ‘इद उल फित्र’ विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ मनाइँदैछ । यो पर्वका लागि एक महिनासम्म रोजा (उपावास) बसेका मुसलमानले अहिले ‘इद उल फित्र’ लाई कोरोना कहरका बीच सामाजिक दुरी कायम गरी महत्वका साथ मनाउन तयारीमा जुटेका छन् ।

नयाँ वर्षसँगै शुरु भएको रमजान अर्थात रोजा ब्रतको आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानका सबैभन्दा ठूलो धार्मिक ग्रन्थ कुरान अवतरण भएको हो भन्ने विश्वास गरिन्छ । मुस्लिम समुदायमा रमजान र ईदउलफित्र पर्ने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । 

दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रतको आज अन्तिम साँझ मुसलमानले चन्द्रमा हेर्न आकाश तिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ । नेपाली जामे मस्जिद काठमाडौंले बुधबार विज्ञप्ति जारी गरी हिजो नेपालको कुनै भाग र छिमेकी राष्ट्रहरूबाट पनि चन्द्रमा नदेखिएकोले ‘इद’ आज मनाउन सूचना जारी गरेको थियो ।

यो पर्वमा मुलसलमानहरूले बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि विशेष परिकार बनाई सामूहिक रुपमा बसेर खाने गर्दछन् । साउदी अरव लगायतका खाडी मुलुकमा भने हिजो ‘इद उल फित्र’ मनाइएको छ । ती देशहरूमा नेपालमा भन्दा एक दिन अगाडि नै चन्द्रमा हेर्न पाउँछन् भन्ने गरिन्छ । 

विशेष जमघटका साथ मनाउने गरिएको रमजान र ईदऊलफित्र विश्वब्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना कहरका कारण आज मुस्लिम समुदायका मानिसहरु घरमै बसेर नमाज पढ्ने र पारिवारिक रुपमा मात्रै ईद मनाउने गरेका छन् ।