२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

एसईईमा ग्रेडेड सि.बि.पब्लिकका विद्यार्थीहरुलाई सम्मान

बिहिवार , आषाढ १८, २०८३

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १८ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ स्थित सि.बि. पब्लिक हाई स्कूलले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ग्रेडेड हुने (उत्तीर्ण) विद्यार्थीहरुलाई सम्मान गरेको छ । बुधबार विद्यालयमा आयोजित सम्मान, बधाई तथा शुभकामना कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

    एसईईमा सहभागी २४ जनामध्ये ग्रेडेड भएका २२ जना विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल उदय कुमार मल्लिकले बताउनुभयो । ३.६० भन्दा बढी जीपीए ल्याउने विद्यार्थीहरु बन्दना गौतम, यमुना घिमिरे र शिखा यादवलाई नगद २ हजारसहित सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै ३.९० जीपीए ल्याउने विद्यार्थी केशव भण्डारी नगद ५ हजारसहित सम्मान गरिएको मल्लिकले जानकारी दिनुभयो । अन्य सम्पूर्ण ग्रेडेड हुने विद्यार्थीहरुलाई टीका, खादा लगाएर मायाको चिनो प्रदान गरी सम्मान गरिएको उहाँले बताउनुभयो ।

    ‘सि.बि. पब्लिकको इतिहासमा ग्रेड सिस्टम आएपछि यो सबैभन्दा राम्रो नजिता हो, यो भन्दा पहिला प्रतिशत सिस्टममा हुँदा २०६५ सालमा सुशीला ज्ञवालीले ९० प्रतिशत ल्याए सिद्धार्थनगर नगरपालिकामै सर्वोत्कृष्ट हुन सफल भएकी थिइन्, उक्त वर्ष विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेको थियो, ’उहाँले भन्नुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि समाजसेवी तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दीपक क्षेत्री न्यौपानेले एसईईमा ग्रेडेड हुने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै उज्जवल भविष्यको कामना गर्नुभयो । उहाँले २४ जनामा २२ जना उत्तीर्ण हुनु राम्रो नतिजा भएको बताउनुभयो । आफूले रोजेको विषय अध्ययन गर्न उहाँले विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । 

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ भण्डारी, प्रिन्सिपल उदय कुमार मल्लिक, अभिभावक अर्जुन प्रसाद गौतम, विद्यार्थी केशव भण्डारी, बन्दना गौतम लगायतले बोल्नुभएको थियो ।