२०८३, आषाढ ७ गते

Jun 21 2026 | २०८३, आषाढ ७ गते

‘पर्यटनमा प्रविधि र कथावाचनको उपयोग’ विषयक सीईओ संवाद कार्यक्रम हुँदै

आइतवार , आषाढ ७, २०८३

  • 376
    Shares
  • 376
    Shares
  • भैरहवा, ७ असार । पर्यटन क्षेत्रको दिगो विकास, डिजिटल प्रवद्र्धन तथा कथावाचनको प्रभावकारी उपयोगबारे छलफल गर्न रुपन्देहीको भैरहवामा ‘पर्यटनमा प्रविधि र कथावाचनको उपयोग’ विषयक सीईओ संवाद कार्यक्रम आयोजना हुने भएको छ ।

    अमेरिकी दूतावास नेपालको सहयोगमा इन्टरनेशनल डेभलपमेन्ट इन्ष्टिच्युट (आईडीआई) र आद्यन्त एडभाइजरीको आयोजनामा असार ८ गते सोमबार (भोली) भैरहवास्थित टाइगर प्यालेस बाई सोल्टीमा कार्यक्रम सञ्चालन हुने भएको हो । ‘अमेरिका–नेपाल व्यावसायिक कूटनीति शृंखला’ अन्तर्गत आयोजना हुने उक्त कार्यक्रममा प्रविधि क्षेत्रका नेतृत्वकर्ता, पर्यटन उद्यमी, सञ्चारकर्मी तथा सार्वजनिक–निजी क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

    कार्यक्रममा पर्यटन क्षेत्रको प्रवद्र्धनमा डिजिटल प्रविधि, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता, क्रिएटर अर्थतन्त्र तथा प्रभावकारी कथावाचनको भूमिकाबारे विशेष छलफल गरिनेछ । नेपालका पर्यटन गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिष्पर्धी र आकर्षक बनाउने विषयमा समेत विचार–विमर्श हुने जनाइएको छ ।

    आयोजकका अनुसार नेपालमा हिमाल, धार्मिक तथा साँस्कृतिक सम्पदाजस्ता विश्वस्तरीय पर्यटन स्रोत भए पनि पर्यटन प्रवद्र्धनमा डिजिटल पहुँच, प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय दृश्यता अझै चुनौतीका रूपमा रहेको छ । यस्ता चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

    कार्यक्रमको उद्घाटन आईडीआईका कन्ट्री डाइरेक्टर रोशन घिमिरेले गर्नुहुनेछ । त्यसपछि पर्यटन सेवा प्रदायकहरूका लागि तयार गरिएको युजर–जेनेरेटेड कन्टेन्ट ड्यासबोर्डसम्बन्धी विशेष प्रस्तुति तथा मास्टरक्लास सञ्चालन गरिनेछ ।

    कार्यक्रममा नेपाली मूलका अमेरिकी प्रविधि उद्यमी तथा ‘भील’ का संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत दिलीप ढकालले विश्वव्यापी पर्यटन बजारमा क्रिएटर अर्थतन्त्र र कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट आएको परिवर्तनबारे अनुभव आदानप्रदान गर्नुहुनेछ ।

    त्यसै गरी रोयल माउण्टेन ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिव ढकालले समुदायमा आधारित पर्यटन विकासका क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव प्रस्तुत गर्नुहुनेछ । उहाँले नेपालका ग्रामीण तथा समुदायस्तरका पर्यटन गतिविधिलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने प्रयासबारे प्रकाश पार्नुहुने जनाइएको छ ।

    आयोजकका अनुसार लुम्बिनी प्रदेशमा पर्यटन पूर्वाधार विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा धार्मिक पर्यटनको सम्भावनालाई डिजिटल प्रवद्र्धनसँग जोड्न कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ ।

    कार्यक्रममा पर्यटन व्यवसायी, होटल तथा आतिथ्य क्षेत्रका प्रतिनिधि, सरकारी अधिकारी, विकास साझेदार संस्था, सञ्चारकर्मी तथा निजी क्षेत्रका प्रतिनिधिहरूबीच अन्तरक्रिया हुने जनाइएको छ । संवादपछि सहभागीहरूबीच नेटवर्किङ कार्यक्रमसमेत आयोजना गरिनेछ ।

    आयोजकले प्रविधि, कथावाचन र पर्यटन क्षेत्रबीचको सहकार्यलाई सुदृढ गर्दै नेपालमा उच्च मूल्यका पर्यटक आकर्षित गर्न, उनीहरूको बसाइ अवधि बढाउन तथा पर्यटन क्षेत्रमा थप लगानी भित्र्याउन कार्यक्रमले योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।