
बिहिवार , बैशाख ३०, २०७८
बुटवल, ३० वैशाख ।
मानव अधिकार तथा शान्ति समाजले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठसंग भेटघाट गरि कोभिड नियन्त्रण, रोकथाम र उपचारका विषयमा छलफल गरेको छ । छलफलमा कोभिडका कारण उत्पन्न समस्या समाधानका लागि विविध पक्षबारे विचार विमर्श भएको तथा आइसीयू र अक्सिजन अभाव लगायतका समस्या समाधान गर्न सरकार र नागरिक समाजबीच सहकार्यको आवश्यकता औंल्याइएको छ ।
उक्त भेटघाट तथा छलफल कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री श्रेष्ठले कोभिडका कारण उत्पन्न समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको स्पष्ट पार्दै कोभिड नियन्त्रण र उपचारका लागि सरकारसँग सहकार्य गर्न नागरिक समाजलाई आग्रह गरे । कोभिड नियन्त्रणका सवालमा प्रदेश सरकार बजेट जुटाउने कार्यमा सदा तत्पर रहने कुरामा जोड दिदै मन्त्री श्रेष्ठले श्रोतको परिचालन र व्यवस्थापन पक्ष बलियो नहुँदा स्थिति गम्भिर बनेको उल्लेख गरे ।
मन्त्री श्रेष्ठ भन्छन–‘कोभिडसंग सम्बन्धित विद्यमान समस्या समाधानका लागि सरकारसंग आवश्यक बजेट छ, श्रोतको कुनै समस्या छैन, श्रोत परिचालन र व्यवस्थापनमा हामी सशक्त ढंगले परिचालन हुन सकेनौं, यसका लागि निजी क्षेत्र र नागरिक समाजले चासो र अग्रसरता देखाउनुपर्यो । देश र जनतालाई संकट परेको बेला सरकारलाई गाली गरेर मात्र समस्या समाधान नहुने उनको जिकिर थियो। सरकारसँग बजेट छ, योजना छ, कार्यान्वयनका लागि आउनोस अग्रसरता देखाउनोस् सरकार सहकार्य गर्न तयार छ–मन्त्री श्रेष्ठले भने ।
सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले तत्कालै गर्नुपर्ने कोभिड संक्रमित बिरामीका लागि आइसीयू लगायत अक्सिजन सिलिण्डर व्यवस्थापन तथा आम नागरिकमा चेतना अभिवृद्धि गर्न जनजागरण अभियान, स्वास्थ्य सामाग्रीको कालोबजारी रोकथाम, सुधार गर्नुपर्ने अस्पतालहरुका कमीकमजोरी तथा उनीहरुलाई सहयोग, संघ–संस्थाहरुको सक्रियताका सन्दर्भमा एकीकृत योजना बनाएर अगाडि बढ्ने लगायत महत्वपूर्ण विषयमा छलफल केन्द्रित रहेको बताए।
कार्यक्रममा साझा अस्पताल प्रा.लि.का मेडिकल सुपरिटेण्डेण्ट डा.लक्ष्मण शर्मा, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका पूर्व सभापति तथा सल्लाहकारहरु कृष्णप्रसाद पराजुली, हरिश ढकाल, वर्तमान सभापति डिपि खनाल लगायतले कोभिड संक्रमणको दोस्रो लहरका कारण मानवको स्वास्थ्य क्षेत्रमा परेको प्रभाव, उपचारमा समस्या र समाधानका उपायहरुबारे चर्चा गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij