२०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

लुम्बिनीमा ‘वेलनेस अवेयरनेस एण्ड वेलनेस टुरिजम प्रमोसन’ कार्यक्रम हुँदै

शुक्रवार , आषाढ ५, २०८३

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ५ असार । स्वस्थ जीवनशैली, स्वास्थ्य सचेतना र स्वास्थ्य पर्यटनको प्रवद्र्धनलाई एकीकृत रूपमा अघि बढाउने उद्देश्यले लुम्बिनी प्रदेशमा विशेष ‘वेलनेस अवेयरनेस एण्ड वेलनेस टुरिजम प्रमोसन’ कार्यक्रम आयोजना हुने भएको छ ।

    स्पा एसोसिएसन नेपाल, ट्रान्क्विलिटी स्पा तथा विभिन्न साझेदार संस्थाको सहकार्यमा असार ५ गते साझको समयमा भैरहवास्थित सिद्धार्थ भिलासामा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रमले भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई समग्र स्वास्थ्य, मानसिक शान्ति तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

    कार्यक्रमका संयोजक ज्योति पछाईले स्वास्थ्य सचेतना, योग, ध्यान, स्पा, प्राकृतिक उपचार तथा समग्र जीवनशैलीसँग सम्बन्धित पर्यटन गतिविधिलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय विश्वभर वेलनेस पर्यटनको आकर्षण बढिरहेका बेला लुम्बिनीमा रहेका सम्भावनालाई उजागर गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

    आयोजक संस्थाकी प्रतिनिधि श्वेता कपालीले नेपाल सरकारले अघि सारेको पर्यटन प्रवद्र्धन अभियानलाई सहयोग पुग्ने गरी कार्यक्रम केन्द्रित गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य र पर्यटनलाई जोडेर नयाँ सम्भावनाको खोजी गर्ने तथा लुम्बिनीलाई वेलनेस गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास स्वरूप कार्यक्रम आयोजना गर्न लागिएको उल्लेख गर्नुभयो।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज अधिकारीको प्रमुख आतिथ्यता रहने जनाइएको छ । साथै लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरू, उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, पर्यटन व्यवसायी, पत्रकार, नागरिक समाजका अगुवा तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ ।

    कार्यक्रममा स्वास्थ्य पर्यटनको सम्भावना, वेलनेस उद्योगको विस्तार, स्वस्थ जीवनशैलीको प्रवद्र्धन तथा लुम्बिनीलाई अन्तर्राष्ट्रिय वेलनेस हबका रूपमा विकास गर्न सकिने विषयमा छलफल गरिने बताइएको छ । कार्यक्रमपछि सहभागीबीच अन्तरक्रिया तथा नेटवर्किङ कार्यक्रमसमेत आयोजना गरिनेछ ।

    पर्यटन क्षेत्रका जानकारहरूका अनुसार धार्मिक पर्यटनका लागि विश्वमै परिचित लुम्बिनीलाई स्वास्थ्य तथा वेलनेस पर्यटनसँग जोड्न सके प्रदेशको पर्यटन उद्योगमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।