२०८३, आषाढ ४ गते

Jun 18 2026 | २०८३, आषाढ ४ गते

स्मार्ट आईटी सोलुसनको ‘डिजिटल प्रतियोगिता’ को तयारी पूरा

बिहिवार , आषाढ ४, २०८३

  • 373
    Shares
  • 373
    Shares
  • बुटवल, ४ असार । बालबालिकाहरूलाई प्रविधिको प्रारम्भिक चरणदेखि नै डिजिटल शिक्षामा अभ्यस्त गराउने उद्देश्यका साथ रुपन्देहीको बुटवलमा आयोजना हुन लागेको डिजिटल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । स्मार्ट आईटी सोलुसनको नियमित अभियान ‘साप्ताहिक आईटी प्रतियोगिता– सिजन २’ अन्तर्गत यस हप्ताको प्रतियोगिता बुटवलस्थित लुम्बिनी शिक्षालयमा आयोजना गरिएको आयोजनले जनाएको छ ।

    कार्यक्रमको सिजन–२ का संयोजक पवित्रा श्रीसका अनुसार यही असार ७ गते आइतबार बिहान ११ बजेदेखि सुरु हुने उक्त प्रतियोगिताका लागि सहभागी हुन इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला गरिएको छ । उत्कृष्ट विजेताहरूलाई नगद पुरस्कार, आकर्षक ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगितामा डिजिटल सिकाइमा बालबालिकाको उत्साह बढाउन सहभागी सबै विद्यार्थीहरूलाई सहभागिता प्रमाणपत्र उपलब्ध गराइने संयोजक श्रीसले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूले आफ्नो ल्यापटप र विद्यालयको परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने बताउनुभयो ।

    स्मार्ट आईटी सोलुसनले हरेक हप्ता यस्ता सिर्जनशील कार्यक्रममार्फत डिजिटल शिक्षाको दायरा फराकिलो बनाउने र सबै बालबालिकालाई समान डिजिटल अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । स्मार्ट आईटी सोलुसनका व्यवस्थापकीय निर्देशक लेखनाथ पन्थले बाल्यकालमै आईटीको जग बसाल्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । उहाँले हरेक बालबालिकालाई प्रारम्भिक चरणदेखि नै प्रविधिसँग अभ्यस्त गराउन यो कार्यक्रम कोेसेढुंगा सावित हुने विश्वास लिइएको बताउनुभयो ।

    कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी उनीहरूको उमेर र क्षमता नुसार विभिन्न विधामा प्रतिष्पर्धा गराइनेछ । कक्षा १ र २ का विद्यार्थीहरुलाई कीबोर्ड एक्सप्लोरर, कक्षा ३ र ४ का विद्यार्थीहरुलाई डिजिटल आर्ट च्यालेन्ज, कक्षा ५ र ६ का विद्यार्थीहरुलाई टाइप राइट च्यालेन्ज, कक्षा ७ र ८का विद्यार्थीहरुलाई प्रेजेन्ट एक्स च्यालेन्जमा प्रतिष्पर्धा गराइनेछ । यस्ता प्रतियोगिताले बालबालिकामा सिर्जनशीलता, डिजिटल सीप, र प्रतिस्पर्धात्मक भावनाको विकास गराउनुका साथै भविष्यमा आईटी क्षेत्रमा करियर बनाउन प्रेरित गर्ने आयोजकको भनाइ छ ।

    प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले पाँचसय दर्ता शुल्कसहित संस्थाको आधिकारिक वेबसाइट स्मार्टआईटीसोलुुसननेपालमा गइ आफ्नो नाम दर्ता गराउन सक्नेछन् । खेलका नियमहरू तथा थप जानकारीका लागि कार्यालयको वेबसाइटमै उल्लेख गरिएको छ ।

    यसअघि गत आइतबार तिलोत्तमा नगरपालिका–शंकरपुरस्थित प्याब्सन तथा हिसान रुपन्देहीको कार्यालय परिसरमा रहेको सभाहलमा पहिलो साप्ताहिक आइटी प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको थियो ।

    कार्यक्रममा खैरेनी, दाङ, भैरहवा, कपिलवस्तु, सैनामैना, बुटवल, फर्साटिकरलगायत विभिन्न क्षेत्रबाट विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक उपस्थिति थियो ।