२०८३, आषाढ ३ गते

Jun 17 2026 | २०८३, आषाढ ३ गते

दुईसय किशोरीले लिए आत्मरक्षा तालिम

बुधवार , आषाढ ३, २०८३

  • 448
    Shares
  • 448
    Shares
  • भैरहवा, ३ असार । रुपन्देहीको भैरहवामा सञ्चालन भएको किशोरीलक्षित आत्मरक्षा तालिममा दुईसय जना छात्रा सहभागी भएका छन् । सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा भैरहवा तेक्वान्दो क्लबको व्यवस्थापनमा जेठ १९ देखि असार २ गतेसम्म तालिम सञ्चालन भएको थियो ।

    भैरहवा तेक्वान्दो क्लबका सचिव तथा तेक्वान्दो प्रशिक्षक प्रकाशमान राजभण्डारीका अनुसार तालिममा नगरका तीन सामूदायिक विद्यालयका किशोरीहरुको सहभागीता थियो । श्री भानु माध्यमिक विद्यालयमा अवजेश कहार, सुसंस्कृत माध्यमिक विद्यालयमा मोहम्मद हुसेन मुसलमान (सुल्तान शेष) र महात्मा बुद्ध माध्यमिक विद्यालयमा आर्यन पौडेलले प्रशिक्षण दिनुभएको थियो । तालिममा कक्षा ८ देखि १० सम्म अध्ययनरत किशोरीहरुको सहभागीता थियो ।

    मंगलबार तालिमको समापन कार्यक्रममा बोल्नुहुँदै नगर उपप्रमुख उमा अधिकारीले किशोरीहरुलाई सुरक्षित गराउन र आत्मबल बढाउन तालिमले सहयोग गर्ने बताउनुभयो । उहाँले प्रत्येक वर्ष नगरपालिकाले तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । भैरहवा तेक्वान्दो क्लबको संस्थापक अध्यक्ष समेत रहनुभएकी उपप्रमुख अधिकारीले प्रत्येक कुरामा ख्याल राख्न किशोरीहरुलाई आग्रह गर्नुभयो । उहाँले खेलाडीले अनुशासनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यो तालिम सञ्चालन गर्नका लागि नगरपालिकाको सिंगो टीमले साथ दिएको उहाँको भनाइ छ ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले खेलकुदलाई अघि बढाउन नगरपालिकाको टीम लागिपरेको बताउनुभयो । उहाँले भैरहवा तेक्वान्दो क्लबले खेलाडीहरु उत्पादन गर्दै आएको बताउनुभयो । 

    भैरहवा तेक्वान्दो क्लबका उपाध्यक्ष प्रितम पुनले तालिम लिएका किशोरीहरुलाई दैनिक रुपमा अभ्यास गर्न आग्रह गर्नुभयो । उहाँले सिकेका कुराहरु सही ठाउँमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

    लुम्बिनी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष राजीव सिंह क्षेत्रीले तालिम सिकेर मात्र नभइ अभ्यास गर्दै जानुपर्ने बताउनुभयो । उहाँले विगत केही वर्षदेखि सिद्धार्थनगर नगरपालिकाले निरन्तर आत्मरक्षा तालिम सञ्चालन गर्दै आएको बताउनुभयो ।

    श्री सूर्यदेव माविका प्रधानाध्यापक भरत गिरी गोसाईले भैरहवा तेक्वान्दो क्लबले तालिमको कुशल व्यवस्थापन गरेको बताउनुभयो । उहाँले सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । नगरपालिकाले जीवनउपयोगी तालिम आयोजना गरेको उहाँको भनाइ छ ।

    भानु माविका प्रधानाध्यापक महेश गुप्ताले सिकेको ज्ञान÷सीप अभ्यासको माध्यमबाट प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले तालिममा किशोरीहरु सक्रिय रुपमा सहभागी भएको बताउनुभयो ।

    तालिममा सहभागी खातिजा प्रविन खानले १५ दिन तालिम केवल तालिममा मात्र सीमित नभइ आत्मबल समेत बढाउने काम गरेको बताउनुभयो । 

    कार्यक्रममा सहभागी विद्यालय, प्रशिक्षकलाई कदरपत्र र विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको भैरहवा तेक्वान्दो क्लबका कोषाध्यक्ष दीपक न्यौपानेले बताउनुभयो ।