२०८३, आषाढ ३ गते

Jun 17 2026 | २०८३, आषाढ ३ गते

हजारौं विद्यार्थीसँग जोडिने पर्यटन व्यवसायी रानाको संकल्प, जन्मदिनमा अक्षयकोष स्थापना

बुधवार , आषाढ ३, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • बुटवल, ३ असार । गरीब तथा विपन्न परिवारका हजारौं विद्यार्थीसँग जोडिने संकल्पसहित सामाजिक अभियानमा लाग्नुभएका गोपाल रानाले जन्मदिनमा खर्च गरिने रकम उनीहरुको भविष्य निर्माणका लागि अक्षकोष स्थापनामा सदुपयोग गर्ने गर्नुभएको छ । आफ्ना विशेष दिनहरुका नाममा गरिने अनावश्यक खर्च र भड्किलो परम्परा भन्दा उक्त खर्चलाई बचाएर बालबालिकाहरुको मुहारमा खुसी ल्याउने अठोटसहित उहाँले आफ्नो हरेक जन्मदिनहरुमा उनीहरुको सहयोगका लागि विभिन्न शैक्षिक संस्थाहरुमा अक्षकोष स्थापना गर्दै आउनुभएको छ ।

    रुपन्देहीका पर्यटन व्यवसायी रानाले यसपटकको जन्मदिनमा पनि विद्यार्थीको सहयोगका लागि अक्षकोष स्थापना गर्नुभएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर–११ स्थित मायादेवी जनकल्याण आधारभूत विद्यालयमा २ लाख रुपैयाँको अक्षकोष स्थापना गरी उहाँले यसपटकको जन्मदिन मनाउनुभएको हो ।

    अधिकांश गरीब तथा विपन्न परिवारका विद्यार्थीहरु अध्ययनरत यस विद्यालयमा १२० जना विद्यार्थी अध्ययनरत छन् । मंगलबार विद्यालयमा उपस्थित भइ रानाले अक्षकोषवापतको रकम हस्तान्तरण गर्नुभएको हो । आवश्यकता अनुसार आगामी दिनहरुमा अक्षकोषको रकम वृद्धि गर्दै लैजाने बताउँदै उहाँले सानो सहयोगले पनि सयौं विद्यार्थीको अनुहारमा खुसी थप्ने योजनासहित सहयोगमा जुटेको उल्लेख गर्नुभयो ।

    WhatsApp Image 2026-06-16 at 8.01.05 PM.jpeg

    यसअघि समेत आफ्ना जन्मदिनमा आर्थिक सहयोग गर्दै आउनुभएका उहाँले बुटवलका विभिन्न विद्यालयहरुमा गरी करिब १० हजार विद्यार्थीसँग जोडिनुभएको छ । उहाँले मुलुककै नमूना बुटवल–१० स्थित कालिका माध्यमिक विद्यालय, बुटवल–११ स्थित प्रगति मावि, बुटवलकै उजिर सिंह मावि तथा तिलोत्तमा–३ स्थित सगरमाथा आधारभूत विद्यालयमा अक्षकोष स्थापना गरिसक्नुभएको छ । हरेक वर्ष फरक–फरक विद्यालयमा अक्षकोष स्थापना गर्ने योजना बनाउनुभएका उहाँले आगामी दिनमा रुपन्देहीको मर्चवार क्षेत्र, पाल्पा, खर्घाखाँची, गुल्मी, पर्वत लगायतका जिल्लाहरुमा समेत पुग्ने लक्ष्य रहेको बताउनुभयो ।

    विद्यालयमा अक्षकोष स्थापना भएकोमा खुसी व्यक्त गर्दै मायादेवी जन जागृति विद्यालयका प्रधानाध्याक दिनाकला खनाल (न्यौपाने)ले बालबालिकालाई समतामुलक शिक्षाको पहुँचमा ठूलो योगदान पुग्ने उल्लेख गर्नुभयो । आफ्नो विद्यालयलाई छनोट गरी प्राथमिकता साथ सहयोगका लागि रानाले गर्नुभएको योगदानले यहाँ अध्ययनरत बालबालिकाहरुको मुहारमा थोरै भए पनि खुसी थप्न मद्दत पुग्ने अपेक्षा गर्नुभयो । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र रानाले सरकारबाट प्राप्त सीमित स्रोतसाधनका बाबजुद विभिन्न व्यक्तिहरुको थोरै–थोरै सहयोग र सहकार्यमा विद्यालय सञ्चालन हुँदै आएको बताउनुभयो । यस विद्यालयमा हाल ३ जना सरकारी अनुदान, २ जना बाल बिकास कार्यक्रम तथा २ जना निजी स्रोतबाट खर्च व्यवस्थापन हुनेगरी शिक्षक कर्मचारी रहेका छन् । 

    बुटवल–११ का वडा सदस्य नहकुल शाहीका अनुसार सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको बस्ती बीचमा रहेको यस विद्यालयमा अधिकांश दैनिक ज्याला मजदुरी गर्ने परिवारका बालबालिकाहरु अध्ययनरत छन् । समाजसेवी रानाले यस विद्यालयलाई छनोट गरी सहयोगको हात बढाउनु प्रसंशनीय रहेको बताउँदै उहाँले विद्यालयले अक्षकोषको सही र व्यवस्थित परिचालन गर्न आग्रह समेत गर्नुभयो ।

    WhatsApp Image 2026-06-16 at 8.01.04 PM.jpeg

    समाजसेवी रानाले आफ्नो जन्म दिन, वैवाहिक वर्षगाँठ लगायतका महत्वपूर्ण दिनहरुमा गरिने खर्चलाई यसैगरी शैक्षिक संस्था, अनाथ आश्रम, अपांगता भएकाहरुको आश्रम तथा मठ–मन्दिरहरुमा अक्षकोष स्थापना गर्दै आउनुभएको छ । रुपन्देहीकै प्रतिष्ठित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, ड्रिम इन्टरनेश्नल होटलका सञ्चालक रानाले विभिन्न नाममा गरिने फजुल खर्चलाई बचत गरी सामाजिक कार्यमा लगाउँदा आत्मसन्तुष्टी प्राप्त हुने बताउनुभयोे ।