२०८३, आषाढ २ गते

Jun 16 2026 | २०८३, आषाढ २ गते

‘जहाँ सुरक्षा बलियो हुन्छ, त्यही पर्यटक जान्छन्’

मंगलवार , आषाढ २, २०८३

  • 283
    Shares
  • 283
    Shares
  • भैरहवा, २ असार । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जहाँ सुरक्षाको अवस्था बलियो र भरपर्दो हुन्छ त्यही नै पर्यटक जाने बताउनुभएको छ । उहाँले विदेशीहरुलाई स्वागत गर्दै पर्यटनको माध्यमबाट अर्थतन्त्रको विकास हुने भए पनि राष्ट्रिय सुरक्षाका आधारभूत विषयहरुमा ‘कम्प्राइज’ भने गर्न नसकिने स्पष्ट पार्नुभयो ।

    अध्यागमन विभाग, काठमाडौंले सोमबार रुपन्देहीको भैरहवामा आयोजना गरेको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआईएस) विषयक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा महानिर्देशक तिवारीले यस्तो बताउनुभएको हो ।

    ‘विदेशीले नेपालमा आएर जोसकुैलाई भेटने, धर्मको प्रचार गर्ने जस्ता गतिविधि हुन दिनुहुँदैन, अपराधिक कार्यमा लाग्ने विदेशी पर्यटकहरुलाई वर्षेनी पक्राउ गर्ने, डिपोट गर्ने लगायत काम विभागले गरिरहेको छ, ’उहाँले भन्नुभयो ।

    नेपाल प्रवेश गर्ने विदेशी पर्यटक÷नागरिकको मुभभेन्टको अभिलेखीकरणका लागि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली आवश्यक रहेको महानिर्देशक तिवारीको भनाइ छ । पर्यटकको सुरक्षा, उहाँहरुलाई सुविधा प्रदान गर्न र राष्ट्रिय सुरक्षाको लागि यो प्रणाली आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । ‘नेपाल आउने पर्यटकको सुरक्षा पनि हाम्रो जिम्मेवारी हो । त्यसका लागि सूचना जरुरी हुन्छ । पर्यटकहरुलाई सेवा दिने सबै संस्थाहरुलाई अध्यागमनको प्रणालीमा जोड्नका लागि अभिमुखीकरण गर्न खासगरी पर्यटकीय केन्द्रहरुमा पुगिरहेका छौं, ’उहाँले भन्नुभयो । यसले विदेशी नागरिकलाई पनि फाइदा पुग्ने उहाँले बताउनुभयो ।

    ‘नेपाल आउने जति पनि विदेशी नागरिक राम्रै उद्देश्यका लागि आउँछन् भन्ने होइन । राष्ट्रिय सुरक्षामा असर हुन नदिन यो प्रणाली अत्यन्तै आवश्यक छ ’उहाँले भन्नुभयो । अध्यागमन सुधारको महत्वपूर्ण अध्यायको रुपमा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली शुभारम्भ गरिएको उहाँले जानकारी दिनुभयो ।

    अध्यागमन कानूनबमोजिम विदेशी नागरिकको स्थानीय रजिष्टे«शन प्रभावकारी बनाउन, विदेशी नागरिकहरुको सुरक्षा थप सुदृढ बनाउन, विपद्को समयमा खोजी तथा उद्दार कार्यमा सहजीकरण गर्न, नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र नेपालमा विदेशी नागरिकको अवाञ्चित गतिविधिमा संलग्नताको नियमन गर्न यो प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ । कुनै पनि प्रणालीमा राख्नु भनेको नियन्त्रण गर्नु नभएको उहाँले बताउनुभयो ।

    Ramchandra Tiwari.jpg

    त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले अब यो प्रणालीको कार्यान्वयवनमा जानुपर्नेमा जोड दिनुभयो । उहाँले  विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीमा आबद्ध हुन आग्रह समेत गर्नुभयो ।

    लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले पर्यटकहरुको सुविधाका लागि सुरक्षा, सुरक्षा र सन्तुष्टी आवश्यक रहेको बताउनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले यो प्रणालीले पछि गएर निजी क्षेत्रलाई समस्या पार्न नहुने बताउनुभयो । सरकारले अघि सारेका योजनाहरु निजी क्षेत्रले साथ र समर्थन गर्दै आएको उहाँले बताउनुभयो ।

    नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेश चन्द्र बहादुर थापाले यस क्षेत्रमा आउने पर्यटकको सूचना प्रणालीलाई व्यवस्थित बनाउन साथ र सहयोग गर्ने बताउनुभयो ।

    सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) लुम्बिनी प्रदेशका अध्यक्ष संजय बजियमले विदेशीसँगै नेपाल आउने भारतीय पर्यटकको पनि तथ्यांक राख्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले पर्यटकको बसाई लम्ब्याउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दुले सरकारको यो कदम स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले पर्यटकले सुरक्षित महसुस गरेपछि पर्यटकको संख्या पनि बढ्ने बताउनुभयो । ‘नेपालमा आउने भारतीय पर्यटकको संख्या पनि धेरै छ । यसलाई पनि अभिलेखीकरण गर्नुपर्छ, ’उहाँले भन्नुभयो ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राजेश महोत्राले पर्यटन व्यवसायमा होटल महत्वपूर्ण अंग भएको बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धनमा साना र मझौला होटलको पनि महत्वपूर्ण भूमिका भए पनि धेरै समस्याको समाधान हुन नसकेको बताउनुभयो ।

    कार्यक्रममा अध्यागमन विभागका निर्देशक अनुप न्यौपाने, शिव प्रसाद लम्साल, अध्यामगन अधिकृत पर्शुराम भट्टराई, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष लीलामणि शर्मा, नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, पर्यटन व्यवसायी किशोर जोशी, गौरव पाण्डेलगायतले भनाइ राख्नुभएको थियो ।