२०८३, आषाढ १ गते

Jun 15 2026 | २०८३, आषाढ १ गते

सामाजिक सचेतनाको आवाजले गुन्जियो लुम्बिनी

सोमवार , आषाढ १, २०८३

  • 199
    Shares
  • 199
    Shares
  • भैरहवा, ३१ जेठ । बिश्व शान्तिको केन्द्र, लुम्बिनी सोमबार शान्ति पदयात्रा तथा सामाजिक विकृतिविरुद्धको अभियानले गुन्जयमान बनेको छ । आत्महत्या, लागूऔषध दुव्र्यसन र बढ्दो सडक दुर्घटनाप्रति आमसमुदायलाई सचेत बनाउने उद्देश्यसहित लुम्बिनीमा वृहत् शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक, विद्यार्र्थी, आमा समूह, युवा क्लब, बौद्ध भिक्षु, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । लुम्बिनी स्थित शान्ति दीपबाट सुरु भएको पदयात्रा लुम्बिनीका विभिन्न क्षेत्रको परिक्रमा गर्दै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुगेर समापन गरिएको थियो। 

    जनचेतनामुलक र्यालीका क्रममा सहभागीहरूले लागूऔषध नियन्त्रण, सडक सुरक्षाको प्रवद्र्धन र जीवनप्रतिको सकारात्मक सोच विकास गर्ने सन्देश बोकेका प्लेकार्ड प्रदर्शन गरिएको थियो । कार्यक्रममा सहभागीहरूको उत्साहले सामाजिक समस्याविरुद्ध सामूहिक प्रतिबद्धता झल्काएको थियो ।

    लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्रबहादुर खत्रीले पछिल्लो समय समाजमा गम्भीर चुनौतीका रूपमा देखिएका लागूऔषध दुव्र्यसन, आत्महत्या र सडक दुर्घटनाका घटनालाई न्यूनीकरण गर्न जनस्तरमा सचेतना फैलाउनु अभियानको मुख्य उद्देश्य रहेको बताउनु भयो । उहाँका अनुसार युवापुस्तालाई कुलतबाट जोगाउने, ट्राफिक नियमप्रति जिम्मेवार बनाउने तथा मानसिक स्वास्थ्यबारे खुला बहसको वातावरण सिर्जना गर्न कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक समस्याको समाधानका लागि समुदाय र सुरक्षा निकायबीचको सहकार्य अपरिहार्य रहेको बताउनु भयो । उहाँले लागूऔषध, आत्महत्या र सडक दुर्घटना जस्ता विषयलाई केवल कानुनी दृष्टिले मात्र नभई सामाजिक जिम्मेवारीका रूपमा हेर्नुपर्नेमा जोड दिनुभयो । 

    ‘सुरक्षित र सभ्य समाज निर्माणका लागि नागरिक स्वयं सचेत हुनुपर्छ । प्रहरी र समुदायबीचको साझेदारी बलियो भए मात्रै यस्ता चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न सकिन्छ,’ उहाँले भन्नुभयो । 
    अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित सभामा नेपाल प्रहरीको ब्याण्डले विभिन्न चेतनामूलक सांगीतिक प्रस्तुति दिएको थियो । साथै, विगतमा लागूऔषधको लत, मानसिक तनाव तथा अन्य जटिल परिस्थितिबाट बाहिरिएर नयाँ जीवन सुरु गरेका व्यक्तिहरूले आफ्ना अनुभव बाढ्दै कुलतबाट टाढा हुन आग्रह गरेका थिए । उनीहरूको संघर्ष र सफलताको कथाले उपस्थित सहभागीहरूलाई भावुक बनाउनुका साथै सकारात्मक जीवनशैली अपनाउन प्रेरित गरेको थियो ।

    लुम्बिनीको शान्ति सन्देशलाई सामाजिक रूपान्तरणसँग जोड्दै आयोजित कार्यक्रमले समाजमा सकारात्मक सोच, जिम्मेवार नागरिकता र सामूहिक उत्तरदायित्वको सन्देश प्रवाह गरेको आयोजकको विश्वास छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपि जनकबहादुर शाहिले बालबालिकासंग अभिभावको सामिप्यता बढाउन सकेको खण्डमा आत्महत्या, लागूऔषध दुव्र्यसनबाट टाढा राख्न सकिने र बढ्दो सडक दुर्घटनाबाट जोगिन सक्ने उल्लेख गर्नु भयो । उहाँले बिद्यार्थी, अभिभावक, प्रहरी र नागरिक वीचको सहकार्यले यस्ता खालको घटना बढ्न नदिने बताउदै सचेतनामुलक कार्यक्रमलाई प्रभावकारी रुपमा फेलाउनु पर्ने बताउनु भयो ।