२०८३, आषाढ १ गते

Jun 15 2026 | २०८३, आषाढ १ गते

लक्ष्मीनगरमा बाद्यबादन तालिम सम्पन्न

सोमवार , आषाढ १, २०८३

  • 250
    Shares
  • 250
    Shares
  • बुटवल, १ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ४ को सहयोग र बुद्धलक्ष्मी सामुदायिक सिकाई केन्द्र बुटवल–४ को आयोजनामा दुईहप्ते बाद्यबादन (मादल बजाउने) तालिम सम्पन्न भएको छ । वडाका २३ जना महिला र २ जना पुरुष गरी २५ जना सहभागीता रहेको सो तालिम कार्यक्रममा प्रशिक्षक बिष्णु प्रसाद कंडेलले हार्मोनियम र मादलको सुर, ताल र लय समातेर मादल बजाउने विधि र प्रक्रिया सिकाउनुभएको थियो । 

    समापन कार्यक्रममा उक्त तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै बुटवल–४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेलले आफ्नो वडामा भौतिक पूर्वाधारका साथै सामाजिक विकासका कार्यक्रम तथा योजनाहरु प्रभावकारी रुपमा कार्यावयन भइरहेको बताउनु भयो । सडक, खानेपानी, विद्युत, विपद् व्यवस्थापन लगायत बिकास निर्माणका साथै शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय फड्को मार्न सफल भएको दावी गर्नुभयो । उहाँले स्थानीय समुदायको माग र जनताको चाहनाबमोजिम योजना कार्यान्वयन भइरहेको बताउनु भयो । सीप विकास र क्षमता विकासका कार्यक्रमहरुले आगामी वर्षमा पनि निरन्तरता पाउने उहाँले जानकारी गराउनुभयो । 

    पूर्ववडाध्यक्ष टंक प्रसाद पराजुलीले वडाको विकासका लागि सबै वर्ग, समुदाय र राजनैतिक नेतृत्वको भूमिका उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा पनि सबैले साझा विचार र संकल्पका साथ अघि बढ्न सकेमा लक्ष्मीनगरको सुन्दरता थप परिस्कृत र आकर्षक बन्नेमा विश्वास व्यक्त गर्नुभयो । लक्ष्मीनगर पार्कका अध्यक्ष बाबुराम ढकाल, लक्ष्मीनगर विकास समितिका गोकर्ण ज्ञवालीलगायतले तालिममा सहभागीता उत्साहपूर्ण रहेको र थप तालिमका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

    IMG_20260614_152501.jpg

    बुद्धलक्ष्मी सामुदायिक सिकाई केन्द्र बुटवल– ४ का अध्यक्ष भवानी प्रसाद सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रशिक्षार्थीहरुकातर्फबाट माया क्षेत्री र किरण थापाले आफूहरुले सीप सिकाईलाई प्रमुख प्राथमिकतामा राखेर तालिममा सहभागी भएको तर, सिक्ने समय प्रयाप्त नभएको भन्दै तालिम अवधि बढाउन आग्रह गर्नुभयो ।

    कार्यक्रमको सञ्चालन दुर्गा सुवेदीले गर्नुभएको थियो । प्रशिक्षक विष्णु कंडेलले थप समय सिकाउने अवसर मिलेमा आफूले पनि सक्दो सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।