२०८३, आषाढ १ गते

Jun 15 2026 | २०८३, आषाढ १ गते

सन्दर्भ : विश्व रक्तदाता दिवस

रक्तदान सेवा मात्रै होइन, जीवनदानको महान अभियान हो : उपमहानगर प्रमुख पाण्डेय

सोमवार , आषाढ १, २०८३

  • 325
    Shares
  • 325
    Shares
  • बुटवल, १ असार । ‘वन ड्रप अफ ह्युम्यानिटी, गिभ ब्लड, सेभ लाइभ्स’ भन्ने मूल नाराका साथ आइतबार विश्वभर रक्तदाता दिवस मनाइएको छ । विश्वव्यापी रूपमा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो । सन् २००५ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा संयुक्त राष्ट्र संघ (युएन) ले यस दिवसलाई औपचारिक मान्यता प्रदान गरेपछि हरेक वर्ष जुन १४ मा विश्व रक्तदाता दिवस मनाइँदै आएको छ ।

    विभिन्न सामाजिक तथा गैरनाफामूलक संस्थाहरूले नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरी मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरिरहेका छन् । मानव रक्त समूहको खोज गर्ने नोबेल पुरस्कार विजेता वैज्ञानिक कार्ल ल्यान्डस्टाइनरको जन्मदिनको अवसर पारेर यो दिवस मनाइन्छ । 

    यसैक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाले आइतबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी नियमित रक्तदान गर्ने करिब १ सयजना स्वयंसेवी रक्तदाताहरुलाई सम्मान गरेको छ । 

    सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रक्तदान सेवा मात्रै नभइ जीवनदानको महान अभियान भएकोले सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । संघीय, प्रदेश र स्थानीय सरकारले निःशुल्क रक्तदानको व्यवस्था मिलाउन आवश्यक समन्वय र सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उपमहानगर प्रमुख पाण्डेयले मानव जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकोले सबै स्थानीय तहले रगत निःशुल्क उपलब्ध गर्ने गराउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । आफूले विगतमा जस्तै आगामी बजेटमा पनि निःशुल्क रगत उपलब्ध गराउनका लागि रकमको व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा २ महिलासहित स्वर्णपदकबाट ८ जना, २ महिलासहित २७ जना रजत पदकबाट र ५३ जनालाई प्रशंसा–पत्रबाट सम्मान गरिएको थियो ।

    IMG_20260614_121200.jpg

    सो अवसरमा नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सुदर्शन नेपाल, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. विष्णु गौतम, सोसाइटीका प्रदेश अध्यक्ष लालकृष्ण पंगेनी (कृष्ण), रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्याय, बुटवल उपशाखा अध्यक्ष वरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षेत्री, नियमित रक्तदाता महेश खनाल, वडा नम्बर–६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, प्राध्यापक दिनेश पन्थी लगायतले रगत नपाए बुटवल जानु भन्ने स्वयंसेवी रक्तदाताको अभियानले सार्थकता पाएको बताउनुभयो । उहाँहरुले यसको निरन्तरता र थप उन्नयनका लागि सबैको पहल आवश्यक रहेकोमा जोड दिनुभयो ।

    विश्व चिकित्सा इतिहास अनुसार पहिलोपटक मानिसबाट मानिसमा सफल रक्त सञ्चार गराउने चिकित्सक डा. जेम्स ब्लन्डेल हुनुहुन्छ । सन् १८१८ मा उहाँले अत्यधिक रक्तस्राव भएकी एक महिलालाई उहाँका पतिको रगत दिएर सफल उपचार गर्नुभएको थियो । त्यसैले इतिहासमा पहिलो ज्ञात रक्तदाता ती महिलाका पति मानिए पनि उनको नाम भने अभिलेखमा सुरक्षित छैन ।

    त्यसै गरी सन् १९३७ मा हंगेरियन–अमेरिकी चिकित्सक बर्नार्ड फ्यान्टसले रक्त सञ्चार केन्द्र ‘ब्लड बैंक’ अवधारणाको विकास गर्नुभएको थियो । अमेरिकाको शिकागोस्थित कुक काउन्टी अस्पतालमा पहिलो ब्लड बैंक स्थापना भएपछि आधुनिक रक्त व्यवस्थापन प्रणालीको विस्तार भएको मानिन्छ । 

    नेपालमा भने सन् १९६६ तिर नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक तथा चिकित्सकहरूको पहलमा रक्त सञ्चार सेवा औपचारिक रूपमा सुरु भएको मानिन्छ । इतिहासअनुसार जनचेतना न्यून रहेको समयमा पनि मानव सेवाको भावनाले प्रेरित भएर दयावीर सिंह कंसाकारले सन् १९४४ मा पहिलो पटक रक्तदान गर्नुभएको थियो । त्यसै गरी तारा देवी तुलाधारले सन् १९६१ मा रक्तदान गरी महिलाहरू पनि रक्तदानमा सक्रिय हुन सक्छन् भन्ने प्रेरणादायी सन्देश प्रवाह गर्नुभएको थियो । बुटवलमा भने वि.सं २०३४ सालमा रक्तदानको सुरुवात भएको हो ।

    भनिन्छ–तत्कालिन अमर युवा क्लबका अध्यक्ष मृगेन्द्रकुमार शेरचनले पहिलोपटक रक्तदान गरी स्वयंसेवी रक्तदानको अभियान सुरु गर्नुभएको थियो ।