२०८३, आषाढ १ गते

Jun 15 2026 | २०८३, आषाढ १ गते

बाँसगढीको नवदुर्गा सामुदायिक वनमा रोपिए पाँचसय बाँसका विरुवा

आइतवार , जेठ ३१, २०८३

  • 274
    Shares
  • 274
    Shares
  • बर्दिया, ३१ जेठ । बर्दियाको बाँसगढी नगरपालिका–८ स्थित श्री नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा वनवर्धन तथा वातावरणीय कार्यक्रमको आयोजना गरिएको छ । लुम्बिनी वल्र्ड पिस फोरम र बाँसगढी नगरपालिकाको संयुक्त आयोजना तथा कुमारी बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको आर्थिक सहयोगमा उक्त क्षेत्रमा ५ सय थान बाँसका विरुवाहरू रोपिएको हो ।

    कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिकाका प्रमुख खड्ग बहादुर खड्काले पर्यावरण संरक्षण र नगरको हरित विकासमा यो कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख खड्काले भन्नुभयो–‘जलवायु परिवर्तनको चपेटामा परिरहेको वर्तमान अवस्थामा यस्ता वृक्षारोपण कार्यक्रमहरू निकै सान्दर्भिक छन् । बाँसगढी नगरपालिकालाई वातावरणमैत्री र समृद्ध बनाउन हामी हरदम प्रयासरत छौं । उहाँले यस पुनित कार्यका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग पुर्याएकोमा कुमारी बैंक लिमिटेडलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

    त्यस्तै लुम्बिनी वल्र्ड पिस फोरमका संस्थापक एवं ‘१ मिलियन (१० लाख) रुख रोपण तथा संरक्षण अभियान’का प्रणेता बासु गौतमले बाँसको बहुआयामिक र आर्थिक महत्वमाथि प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो–’बाँस केवल एक विरुवा मात्र नभएर स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने गतिलो माध्यम पनि हो । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र द्रुत गतिमा कार्बन सोस्न बाँस निकै उपयोगी मानिन्छ । यसको व्यवसायिक खेती र संरक्षणले पर्यावरण र आयआर्जन दुवैमा ठूलो टेवा पुग्नेछ ।’

    WhatsApp Image 2026-06-14 at 11.10.20 AM.jpeg

    कुमारी बैंक लिमिटेड बाँसगढी शाखाका प्रतिनिधि निरज चटौतले कुमारी बैंक बैंकिङ सेवाका साथसाथै समाजको दिगो विकास र वातावरण संरक्षणमा सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि स्थानीय समुदायको हित र वातावरणीय सुधारका कार्यहरूमा बैंकले निरन्तर सहकार्य गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    स्थानीय जनप्रतिनिधि, वन उपभोक्ता समूहका पदाधिकारी, बुद्धिजीवी तथा प्रकृतिप्रेमी नागरिकको उपस्थिति रहेको उक्त कार्यक्रममा रोपिएका विरुवाहरूको संरक्षणका लागि स्थानीय समुदायले नै स्वामीत्व लिने प्रतिबद्धता समेत जनाएका छन् ।